बीमा कम्पनीमा स्वतन्त्र सञ्चालक अध्यक्ष बन्न नपाउने



काठमाडौं । बीमा कम्पनीमा कुनै पनि स्वतन्त्र सञ्चालक अध्यक्ष बन्न नपाउने छन् । बीम सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कुनै पनि बीमा कम्पनीमा स्वतन्त्र सञ्चालकपछि अध्यक्ष बन्न खोजेको खण्डमा त्यो प्रक्रिया असफल हुने भएको छ ।

आइतबार अर्थसमितिमा आइतबार विधेयकमा दफाबार छलफल गर्दै सांसदहरुले कुनै पनि स्वतन्त्र सञ्चालक अध्यक्ष हुन नपाउने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

सोही अनुसार विधेयक संशोधन भएको छ ।

स्वतन्त्र सन्चालक भएको व्यक्ति कुनै समयमा बीमा कम्पनीको अध्यक्ष भएको खण्डमा अध्यक्षप्रति प्रतिबद्ध हुने भन्दै बिबाद हुने भएकाले स्वतन्त्र सन्चालक अध्यक्ष बन्न नपाउने व्यवस्था गरिएको हो ।

समितिको बैठकमा एक सांसदले भने ‘एक जनाका लगानी हुन्छ, अर्को व्यक्ति निर्वाचनबाट अध्यक्ष भएर आयो भने भोली अध्यक्ष मालिकप्रति जवाफदेही हुन्छ वा अरु कोही प्रति त्यसैले यो व्यवस्था ऐनमा नै प्रष्ट व्यवस्था हुनुपर्छ ।’

बैठकका क्रममा बीमा कम्पनीको स्वतन्त्र सञ्चालक रहेको व्यक्ति लगातार २ कार्यकालका लागि सदस्य रहन पाउने छ ।

हाल ऐनका दफा ४९ मा ‘स्वतन्त्र सन्चालक एक कार्यकालको लागि मात्र नियुक्त हुनसक्नेछ’ भन्ने व्यवस्था थियो । अब त्यसको ठाँउमा स्वतन्त्र सञ्चालक २ कार्यकालको लागि सदस्य हुने व्यवस्था गरिएको छ ।

अहिले दफा ४९ मा ‘सञ्चालकको पदावधि बढिमा ४ वर्षको हुनेछ र निज पुनः नियुक्त वा÷मनोमानी हुन सक्नेछ’ भन्ने उल्लेख रहेको छ । अर्थसचिव डा. शिशिरकुमार ढुंगानाले कति पटक पुनः नियुक्त हुने भन्ने प्रश्न गरेका थिए । त्यसमा स्वतन्त्रको हकमा भने २ कार्यकाल रहने पाउने भन्ने व्यवस्था गरिने भएको छ ।

बैठकमा सञ्चालकको योग्यतामा स्नातकोत्तर वा सो सरहको उपाधि हाँसिल गरेको हुनुपर्ने व्यवस्था रहेकोमा केही सांसदहरुले स्नातकोत्तरलाई स्नातक मात्रै राख्न प्रस्ताव गरेका छन् ।

बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमा छलफल गर्दा फूलस्टप, कमामा अडकिएर बस्न नहुने बताए । यो विधेयक प्राधिकरणलाई सक्षम बनाउने खालको हुनुपर्ने भन्दै सामान्य विषयमा चर्चा गरेर समय खेर नफाल्न समेत आग्रह गरे ।

अहिले नै सबै कुरा बाँधेर लैजाँदा काम गर्न समस्या हुने भन्दै ऐनको कार्यान्वयनमा समस्या हुने भन्दै केही खुकुलो बनाउन आवश्यक रहेको उनको तर्क छ ।


क्लिकमान्डु