बाग्मती प्रदेशमा ८ वटा हिल स्टेसन निर्माण शुरु



काठमाडौं । पर्यटकीय क्षेत्र विकास गर्ने उद्देश्यले बाग्मती प्रदेशले ८ वटा हिल स्टेसन निर्माण शुरु गरेको छ ।

बाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शिवकुमार वाग्लले ८ वटा हिल स्टेसन निर्माणको काम शुरु भएको जानकारी दिए ।

आइतबार सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा आयोजित पर्यटन क्षेत्रको विकासका लागि आगामी वर्षका लागि योजना तथा रणनीति छलफल कार्यक्रममा प्रस्तुती गर्दै सचिव वाग्लले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुली र रामेछापमा हिल स्टेसन निर्माणको काम शुरु भइसकेको छ ।

जसमध्ये हालसम्म मकवानपुरको चित्लाङ, सिन्धुपाल्चोकको मुडे, नुवाकोटको ककनीमा हिल स्टेसन निर्माणको भौतिक निर्माण कार्य शुरु भइसकेको छ ।

साथै, दोलखाको जिरी, धादिङको रुवी भ्याली, सिन्धुलीको सिन्धुलिगढी र रामेछापको शिवालयमा हिल स्टेसनको डीपीआर तयार भइ बहुवर्षे योजनाका रुपमा ठेक्का प्रक्रिया शुरु भइसकेको छ ।

वाग्लेका अनुसार बाँकी रसुवाको सोमदाङमा भने हिल स्टेसन निर्माणका लागि डीपीआर हुन बाँकी छ ।

कार्यक्रममा बोल्दै सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अन्य प्रदेशमा पनि सम्भाव्यता अध्ययन गरी हिल स्टेसन निर्माण गर्न सुझाव दिएका थिए ।


क्लिकमान्डु