बैंकहरुले करारमा कर्मचारी राखेर ‘कोर बैंकिङ’को काम लगाउन नपाउने, यस्तो आयो नयाँ नियम



काठमाठौं । बैंक तथा वित्तीय संस्थाहरुले अब करारमा कर्मचारी राखेर ‘कोर बैंकिङ’को काम लगाउन नपाउने भएका छन् ।

बैंकहरुले पैसा जोगाउनका लागि करारमा कर्मचारी राखेर कोर बैंकिङको काम लगाएका कारण असुरक्षा बढेको निष्कर्श निकाल्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

‘धेरै बैंकहरुले करारमा कर्मचारी राखेर कोर बैंकिङको काम लगाउने गरेको पाइयो, जसकारण बैंकिङ क्षेत्रमा असुरक्षा बढ्यो,’ राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले क्लिकमाण्डूसँग भने, ‘त्यसैले करारमा कर्मचारी राखेर कोर बैंकिङको काम लगाउन नपाउने व्यवस्था गरेका हौं ।’

२७ वाणिज्य बैंकमा ३८.४६ प्रतिशत महिला कर्मचारी, कुन बैंकमा कति ? (तथ्यांकसहित)

राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत् पनि करारका कर्मचारीलाई कोर बैंकिङको काम लगाउन नपाइने भनेको थियो ।

तर, अहिले कर्मचारी सेवा विनियमावली लागू गर्दै कस्ता किसिमका कर्मचारी मात्रै करारमा राख्न पाउने र करारमा राख्दा पालना गर्नुपर्ने शर्तका बारेमा पनि व्यवस्था गरेको छ ।

कुनै खास काम वा सेवा किटान गरी सो सम्पन्न गर्नका लागि करार/ज्यालादारीमा कर्मचारी नियुक्ति गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

कोर बैंकिङ भनेको सम्बन्धित बैंकको सिस्टम खोल्न र बन्द गर्न पाउने एक्सेस हो । करारमा राखिएका कर्मचारीले बैंकको सिस्टम खोल्न र बन्द गर्न वा सिस्टमभित्र प्रवेश गर्न पाउने छैनन् ।

किन आवश्यक पर्यो यो नियम ?

पहिलो कुरा, करारको कर्मचारीले बैंकिङ सिस्टमको बारेमा राम्रोसँग नबुझेको हुनसक्छ । उसलाई बैंकले पर्याप्त तालिम पनि दिएको हुँदैन । करारको कर्मचारी जिम्मेवार पनि हुँदैन । जसकारण त्यस्ता व्यक्तिले काम गर्दा ठूलो मिस्टेक हुन्छ । र, बैंकिङ क्षेत्रमै हंगामा मच्चिन्छ ।

दोस्रो, यसरी करारमा राखिएका कर्मचारीलाई कोर बैंकिङको काम गर्न दिन पाउने हो भने बैंकहरुले स्थायी कर्मचारी कटौति गर्दै करारलाई प्रोत्साहन गर्छन् । करारको कर्मचारीको सेवा सुविधा पनि कम हुन्छ भने उसको जागिरको सुरक्षा पनि हुँदैन ।

बैंकको सुरक्षा र कर्मचारीहरुको सुरक्षाका लागि राष्ट्र बैंकले यो नियम ल्याएको हो ।

‘बैंकहरुले खर्च जोगाउनका लागि करारमा धेरै कर्मचारी राखेर काम चलाइरहेका छन्, हामीले यसलाई रोक्न खोजेका हौं,’ ढकालले भने ।

कोर बैंकिङ बाहेकका काममा भने बैंकहरुले करारमा कर्मचारी राख्न पाउने छन् । त्यो भनेको प्राविधिक, कन्सल्ट्यान्ट, कार्यालय सहयोगी, प्लम्बर यस्तै यस्तै ।

‘पहिला पहिला बैंकहरुले राष्ट्र बैंकलाई झुक्याएर करारका कर्मचारीलाई कोर बैंकिङको काम लगाउँथे, अब पाउँदैनन्,’ ढकालले भने ।

कर्मचारी विनियमावली अनुसार बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीलाई व्यवस्थापकीय, अधिकृत, सहायक र सहयोगी गरी ४ श्रेणीमा विभाजन गर्नुपर्ने छ ।

 


पुष्प दुलाल