२७ वाणिज्य बैंकमा ३८.४६ प्रतिशत महिला कर्मचारी, कुन बैंकमा कति ? (तथ्यांकसहित)



काठमाडौं । बैंक तथा वित्तीय संस्थाभित्र पस्नसाथ काउन्टरमा तपाईंलाई सेवा दिन तैनाथ चिटिक्क परेका महिला कर्मचारीले तपाईंको स्वागत गर्छन् ।

सुन्दर र सफाचट युवतीको स्वागतले पक्कै पनि तपाईंको मन प्रफुल्लित बनाउँछ । पछिल्ला वर्षहरुमा बैंक जाँदा तपाईंलाई स्वागत गर्ने र सेवा दिने महिलाको बाक्लिँदै गएको अनुभूति पक्कै पनि गर्नुभएको होला ।

तथ्यांकले पहिल्ला वर्षहरुमा बैंकिङ क्षेत्रमा काम गर्ने महिलाको संख्या बढेको देखाउँछ । बैंकको जागिर सुरक्षित, भरपर्दो र आकर्षक तलबरभत्ता हुने भएकाले पनि युवतीहरुको आकर्षण बढ्दो छ ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले कुल ३६ हजार ९६७ जनालाई रोजगारी दिएका छन् । जसमध्ये २२ हजार ७४६ जना पुरुष र १४ हजार २२१ जना महिला कर्मचारी छन् । प्रतिशतका आधारमा हेर्ने हो भने कूल कर्मचारी संख्यामा महिलाहरुको हिस्सा ३८.४६ प्रतिशत छ । वाणिज्य बैंकहरुमा कार्यरत कुल कर्मचारीहरुमा महिलाको हिस्सा सबैभन्दा बढी एनसीसी बैंकमा ६०.९८ र सबैभन्दा थोरै कृषि विकास बैंकमा २४.४७ प्रतिशत महिला कर्मचारीको हिस्सा रहेको छ ।

 

बैंकमा भएको महिला सहभागिताले नेपालमा महिला शशक्तिकरण बढिरहेको र अब लैंगिक विभेद अन्त्यतर्फ समाज अघि बढेको संकेत गर्छ ।

आगामी ४/५ वर्षमा बैंकिङ क्षेत्रमा महिला कर्मचारीको संख्या ५० प्रतिशत पुग्ने बैंकर्स संघका अध्यक्षसमेत रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) भुवन दाहाल बताउँछन् ।

दाहालका अनुसार बैंकमा महिला कर्मचारीको आकर्षण बढ्नुका पछाडि खासगरी २ वटा छन् । पहिलो कुरा त कलेज टप गर्ने केटीको संख्या केटा बराबर हुन थालेको छ ।

‘मेरो अनुभवमा शहरी क्षेत्रमा अहिले महिला र पुरुषबीचको लैंगिक विभेद देखिँदैन,’ दाहालले क्लिकमाण्डूसँग भने, ‘कलेज टप गर्नेमा केटा र केटी बराबर हुन थालेका छन् । जसकारण बैंकमा मात्रै होइन, समग्र क्षेत्रको जागिरमा पनि महिलाको संख्या गुणात्मकरुपमा बढिरहेको छ ।’

दोस्रो कुरा, बैंकको जागिर सुरक्षित र भरपर्दो हुनुका साथै आकर्षक तलबरभत्ता हुने भएकाले युवतीहरु आकर्षित हुने गरेको दाहाल बताउँछन् ।

र, अर्को महत्वपूर्ण कुरा हो पुरुषहरु बढी विदेशिनु । महिलाको तुलनामा विदेशिने पुरुषको संख्या धेरै छ । त्यसैले पनि बैंकिङ क्षेत्रमा महिलाको सहभागीता बढेको उनको भनाइ छ ।

‘बैंकको जागिरमा फारम भर्ने र परीक्षा दिनेको संख्या पनि पुरुषको भन्दा महिलाकै बढी छ कि भन्ने लाग्छ,’ उनले भने ।

महिलाहरुको बढ्दो सहभागीताले अबको १०/१५ वर्षपछि बैंकको उच्च व्यवस्थापनमा महिला पुरुष बराबर हुने बताउँछन् दाहाल ।

सामान्य अवस्थामा महिला र पुरुष कर्मचारीहरुको उत्पादकत्व बराबर हुने तर महिलाहरुको बिहे गरिसकेपछि र बच्चा भएपछि भने उत्पादकतव घट्ने दाहालको अनुभव छ ।

‘सामान्य अवस्थामा हामी पनि पुरुष भन्दा के कम भन्दै महिला कर्मचारीहरु पुरुषसरह उत्पादकत्व दिन्छन्,’ दाहाल भन्छन्, ‘तर, जब गर्भवती हुन्छन् र बच्चा जन्माउँछन्, तब उनीहरुको उत्पादकतव ह्वात्तै घट्छ । तर बच्चा ठूलो भएपछि फेरि बढ्छ ।’

बैंकको जागिरमा महिलाहरुको सहभागिता बढ्नु सुखद पक्ष रहेको उनको भनाइ छ ।

‘यसले नेपालमा महिला शशक्तिकरण बढिरहेको र अब लैंगिक विभेद अन्त्यतर्फ समाज अघि बढेको संकेत गर्छ,’ आफ्नो पालाको अवस्था स्मरण गर्दै दाहालले भने, ‘हाम्रो पालामा केटा र केटीले हात मिलाउँदा नै ठूलो परिवर्तन ठानिन्थ्यो । तर, अचेल त केटाकेटी तँतँमम गर्छन्, हग गर्छन् ।’

बैंकमा जाने ग्राहकलाई स्वागत गर्ने रिसेप्सनिस्टदेखि उच्च व्यवस्थापनसम्ममा पनि महिलाहरु पुगेका छन् । जसको उदाहरण मेगा बैंक हो ।

अनुपमा खुञ्जेली, सीइओ- मेगा बैंक

मेगा बैंकको सीइओमा अनुपमा खुञ्जेली र डेपुटी सीइओमा रविना देशराज छन् । साथै बैंकको उच्च व्यवस्थापनमा मात्र ९ जना महिला छन् । मेगा बैंकको काठमाडौको मैतीदेवी ब्राञ्चमा महिला कर्मचारीमात्र छन् । मेगामा कूल ११५६ जना कर्मचारी छन्, जसमध्ये ६६२ पुरुष र ४९४ जना महिला कर्मचारी छन् ।

त्यसैगरी, एनसीसी बैंकमा पनि डेपुटी सीइओको रुपमा बन्दना पाठक कार्यरत छिन् । प्रतिशतका आधारमा हेर्ने हो भने एनसीसी बैंकमा महिला कर्मचारीको संख्या अत्याधिक छ । बैंकमा कूल १२७४ जना कर्मचारी छन्, जसमध्ये ७७७ जना महिला र ४९७ जना पुरुष कर्मचारी कार्यरत छन् ।

संख्यात्मक हिसाबले सबैभन्दा धेरै महिला कर्मचारी भएको बैंक हो एनआइसी एशिया । यो बैंकमा कूल ३४७२ जना कर्मचारी कार्यरत छन् । जसमा १६८८ जना महिला र १७८४ जना पुरुष कर्मचारी कार्यरत छन् । यद्यपि यो बैंकको उच्च व्यवस्थापनमा भने महिलाको उपस्थीति छैन ।

जनता बैंक गाभिएपछि ग्लोबल आइएमी बैंक विभिन्न सूचकहरुमा देशकै नम्बर वान बनेको छ । यो बैंक संख्यात्मक हिसाबले दोस्रो धेरै महिला कर्मचारी भएको बैंकमा पर्छ । ग्लोबल आइएमइमा कूल ३०२१ जनता कर्मचारी कार्यरत छन् । जसमा १०३८ जना महिला र १९८३ जना पुरुष कर्मचारी छन् ।

महिला कर्मचारी बढी भएको वाणिज्य बैंकको तेस्रो नम्बरमा प्रभु बैंक रहेको छ बैंकमा कुल २०६१ कर्मचारी कार्यरत रहेकामध्ये ९५३ जना महिला र ११०८ जना पुरुष कर्मचारी छन् ।

यसैगरी, नेपाल बैंकमा कुल २३१७ कर्मचारीमध्ये १५०६ पुरुष र ८११ जना महिला, नेपाल इन्भेष्मेन्ट कुल १४०८ जनामध्ये ७६० पुरुष र ६४८ जना महिला, राष्ट्रिय वाणिज्य बैंकमा २११२ कुल कर्मचारीमध्ये १४८३ जना पुरुष र ६२९ जना महिला कर्मचारी कार्यरत छन् ।

त्यस्तै, सिद्धार्थ बैंकमा कुल १६४५ कर्मचारीमध्ये १०४४ जना पुरुष र ६०१ जना महिला, कृषि विकास बैंकमा कुल २२८० कर्मचारीमध्ये १७२२ जना पुरुष र ५५८ जना महिला, माछापुच्छे बैंकमा कुल ११९५ कर्मचारीमध्ये ७०६ जना पुरुष र ४८९ जना महिला, सिटिजन्स बैंकमा कुल ९७३ कर्मचारीमध्ये ५४९ जना पुरुष र ४२४ जना महिला कर्मचारी कार्यरत छन् ।

यसैगरी, एनएमबी बैंकमा कुल ११२२ कर्मचारीमध्ये ७१० जना पुरुष र ४१२ जना महिला, नबिल बैंकमा कुल १०८० कर्मचारीमध्ये ७६८ जना पुरुष र ४०२ जना महिला, कुमारी बैंकमा कुल १०४३ कर्मचारीमध्ये ६५५ जना पुरुष र ३८८ जना महिला, सिभिल बैंकमा कुल ९९१ कर्मचारीमध्ये ६१३ जना पुरुष र ६१३ जना महिला, सनराइज बैंकमा कुल १२३६ कर्मचारीमध्ये ८१७ जना पुरुष र ३६५ जना महिला कर्मचारी कार्यरत छन् ।

त्यस्तै, हिमालय बैंकमा कुल ८९५ कर्मचारीमध्ये ५३९ जना पुरुष र ३५६ जना महिला, बैंक अफ काठमाण्डूमा कुल ७७६ कर्मचारीमध्ये ४२१ जना पुरुष र ३५५ जना महिला, लक्ष्मी बैंकमा कुल १०२१ कर्मचारीमध्ये ६७९ जना पुरुष र ३४२ जना महिला, सानिमा बैंकमा कुल ९६२ कर्मचारीमध्ये ६२५ जना पुरुष र ३३७ जना महिला, नेपाल बंगलादेश बैंकमा कुल ८७९ कर्मचारीमध्ये ५५३ जना पुरुष र ३२६ जना महिला कर्मचारी छन् ।

नेपाल एसबीआई बैंकमा कुल १०२९ कर्मचारीमध्ये ७१२ जना पुरुष र ३१७ जना महिला, प्राइम बैंकमा कुल ७३१ कर्मचारीमध्ये ४४८ जना पुरुष र २८३ जना महिला, एभरेष्ट बैंकमा कुल ८९० कर्मचारीमध्ये ६२३ जना पुरुष र २६७ जना महिला, स्ट्याण्डर्ड चार्टर्ड बैंकमा कुल ५३१ कर्मचारीमध्ये २९६ जना पुरुष र २३५ जना महिला कर्मचारी कार्यरत छन् ।


पुष्प दुलाल