नेपाल एयरलाइन्सको दिल्ली, मुम्बई, बैंगलोर र दोहाको उडान कटौती, टिकटको पैसा फिर्ता पाइने



कोरोना भाइरस (कोभिड १९) का कारण यात्रु संख्यामा आएको कमीले गर्दा नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा केही कटौती गरेको छ ।

जस अनुसार दैनिक २ वटा उडान गर्दै आएको काठमाडौं–दिल्ली– काठमाडौं उडान मार्च १५ देखि लागू हुने गरी एउटा मात्र गरिनेछ । अब बिहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ ।

बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिलसम्म स्थगित गरिएको छ ।

बैंककको मार्च ११ र मार्च २५ को उडान एवम् हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ । काठमाडौं दोहा बीचको उडान फागुन २७ गते देखिनै अर्को सूचना नभए सम्मका लागि स्थगित गरेका निगमले जानकारी दिएको छ ।

उपरोक्त उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने छ भने टिकटको उडानको मिति १ पटक परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु