कोरोना प्रभावः विमान कम्पनीले भाडा घटाए, प्याराग्लाइडिङ र होटल व्यवसाय संकटमा



काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको छ । एकातिर होटलहरु ‘लो अकुपेन्सी’मा चलिरहेका छन् भने अर्कोतिर विमान कम्पनीले पनि यात्रु पाएका छैनन् ।

चीनबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १२५ मुलुकमा फैलिइसकेको छ । जसको असर नेपालको अर्थतन्त्र र विशेष गरी पर्यटन क्षेत्रमा परेको छ ।

चिनियाँ पर्यटकले भरिने राजधानी काठमाडौं, पोखरा, सौराहालगायतका होटलहरु यतिबेला सुनसान जस्तै छन् । यसले प्याराग्लाइडिङमा पनि ठूलो असर परेको छ ।

काठमाडौं नक्सालस्थित पाँच तारे होटल मेरियटका सञ्चालक शशिकान्त अग्रवाल अहिले होटलको अकुपेन्सी ४० प्रतिशतभन्दा बढीले कमी आएको छ । पहिले कुल कुपेन्सीको ६० प्रतिशत चिनियाँ पर्यटक रहने गरेकोमा अहिले चिनियाँ पर्यटक १० प्रतिशत पनि छैनन ।

त्यतिमात्रै होइन, पोखरामा होटल, प्याराग्लाइडिङ तथा व्यापार पनि ठप्प जस्तै भएको छ । एकातिर चिनियाँ पर्यटकको संख्यामा ह्वात्तै कमी आएको छ भने अन्य देशबाट आउने पर्यटकहरुको संख्यामा पनि कमी आएको छ ।

अझ सरकारले अनअराइभल भिसामा रोक लगाएपछि यो संकट थप एक महिना अझ लम्बिने निश्चित भएको छ । यसले व्यवसाय गर्न नै अप्ठ्यारोमा अवस्था सिर्जना भएको छ ।

विदेशी पर्यटक त्यसमा पनि चिनियाँ पर्यटकले भरिभराउ हुने ठमेलमा पनि अहिले पर्यटकको संख्या ह्वात्तै घटेको छ । ठमेल पर्यटन विकास परिषद्की उपाध्यक्ष गीता गुरुङका अनुसार चिनियाँ पर्यटकले भरिने ठमेल यतिबेला सुनसान जस्तै छ ।

चिनियाँ पर्यटकलाई लक्षित गरी खोलिएका चिनियाँ रेष्टुराँको व्यापार पनि ठप्प जस्तै भएको छ । उनले अहिले व्यवसाय घटेकोभन्दा मुख्य चिन्ता कोरोना भाइरसको संक्रमण नहुन रोक्नेतर्फ ध्यान दिनु पर्ने बताइन ।

त्यसमाथि सरकारले विदेशी पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाएसँगै यो संकट आगामी दिनमा अझै चुलिँदै जाने उनको भनाइ छ ।

प्याराग्लाइडिङ उडान घटे
प्याराग्लाइडिङ एसोसिएसन महासचिव शैलेन्द्र रावतले कोरोना भाइरसका कारण चिनियाँ पर्यटकको संख्या कम हुँदा अहिले दैनिक ५० उडान पनि हुन सकेका छैनन् ।

‘सामान्य दिनमा औसत ३ सयभन्दा बढी उडान हुनेमा अहिले ५० उडान पनि हुन सकेका छैनन्,’ उनले भने ।

यसले प्याराग्लाइडिङ व्यवसायमा नराम्रो असर परेको उनले बताए । उनका अनुुसार हाल पोखरामा मात्रै ५२ वटा प्याराग्लाइडिङ कम्पनी छन् । जसमा ५०० भन्दा बढी पाइलट र २ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा साढे २ हजार जना प्रत्यक्ष मारमा परेको उनको भनाइ छ ।

रावतका अनुसार व्यवसायमा आएको संकटका कारण बैंकको ब्याद, भाडा र स्टाफ खर्च समेत धान्न नसकिने अवस्था आएको छ ।

‘औसतमा एउटा कम्पनीले एउटा मात्रै उडान गरेका छन्, यसले व्यवसाय नै धान्न नसकिने अवस्था आएको छ,’ उनले भने ।

उनका अनुसार नेपाल भ्रमण वर्ष शुरु हुँदा जनवरी महिनामा ३ सयभन्दा बढी उडान भएको थियो । जसमा धेरै जसो चिनियाा पर्यटक नै बढी हुन्थे तर अहिले ७५ प्रतिशत नेपाली र २५ प्रतिशत मात्रै विदेशीले उडान गरिरहेका छन् ।

विमान कम्पनीले भाडा घटाए
कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै नेपाली विमान कम्पनीहरुले पनि भाडा समायोजन गरेका छन् । विमान कम्पनीका अनुसार अहिले आन्तरिक उडानमा यात्रुको संख्या ६० प्रतिशतले कमी आएको छ ।

एयरलाइन्सहरुले भैहरवा–काठमाडौंको रुटमा हवाई भाडा २५ सय रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । त्यस्तै, बिराटनगर–काठमाडौंको रुटमा हवाई भाडा २६ सय रुपैयाँसम्म कायम गरिएको छ ।

काठमाडौं–पोखराको रुटमा हवाई भाडा २ हजार रुपैयाँसम्म झरेको छ । त्यस्तै, काठमाडौं–भैरहवाका लागि २५ सय रुपैयाँ, काठमाडौं–भरतपुर २९ सय रुपैयाँ, काठमाडौं–बिराटगनरका लागि २७ सय रुपैयाँसम्म हवाई भाडा कायम भएको छ ।


क्लिकमान्डु