७३ जना कर्मचारी रहेको बीमा समितिमा अध्यक्ष चाँपागाईकै पहलमा खुल्यो अर्को कर्मचारी संगठन



काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा राजनैतिक चलखेल शुरु भएको छ ।

समितिमा हाल रहेका कर्मचारी युनियनमा असन्तुष्टी जनाउँदै केही कर्मचारीले बीमा समिति कर्मचारी संगठन गठन गर्न लागेका छन् ।

बीमा समितिमा हालसम्म कुनैपनि राजनैतिक पार्टी निकट कर्मचारी संगठन थिएन । अहिले समितिमा रहेको कर्मचारी युनियनको अध्यक्षमा गत मंसिर ११ गतेबाट पूर्णबहादुर थापा निर्वाचित भएका थिए ।

उनको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको केही समय नबित्दै कार्यसमितिका उपाध्यक्ष, सचिवलगायत ५ जनाले कार्यसमितिबाट नै राजीनामा दिएका थिए । ती व्यक्तिहरुको राजीनामा पनि व्यवस्थापन समितिको दवाबमा नै भएको र हाल नयाँ कर्मचारी संगठन पनि गठन व्यवस्थापनको पहलमा नै हुन लागेको समितिका एक अधिकारीले बताए ।

‘समितिमा केही कर्मचारी युनियनको पदको लोभ भएका केही व्यक्तिहरु छन्’ ती अधिकारीले क्लिमाण्डूसँग भने ‘उनीहरुले युनियनको अध्यक्षलाई राजीनामाको दवाब धेरै पटक दिए ।’

युनियनका अध्यक्षले पदबाट राजीनामा नदिएपछि आफ्नो मनोमानी गर्न राजनीतिक चलखेल गरेर माओवादी निकट कर्मचारीले संगठन गठन गरी दर्ता समेत गरिसकेकोे अधिकारीको भनाइ छ ।

नयाँ कर्मचारी संगठन बीमा समितिका अध्यक्ष चिरञ्जीवि चाँपागाईको आदेशमै गठन हुन लागेको समिति सम्बद्ध एक कर्मचारीले क्लिमाण्डूलाई जानकारी दिए ।

‘अध्यक्षज्यूको धेरै निणर्यमा कर्मचारी युनियन बाधक बनेको थियो’ स्रोतले भन्यो ‘नयाँ कर्मचारी गठनको मुख्य योजनाकार नै अध्यक्षज्यू हो, त्यसमा कार्यकारी निर्देशक राजुरमण पौडेलको मिलोमतो छ ।’

हाल गठन हुन लागेको कर्मचारी संगठनको अध्यक्षमा पदमप्रसाद शोडारी, उपाध्यक्ष विनोद पोखरेल, महासचिव दीपक ज्ञवाली, टेकराज पाण्डे कोषाध्यक्ष हुने उनले जानकारी दिए ।

समितिमा नयाँ संगठन कर्मचारीको हक, हितका लागि काम गर्न गठन गर्न लागिएको संगठनका हुनेवाला अध्यक्ष शोडारीले बताए ।

कर्मचारी युनियनसँगै कर्मचारी संगठनको पनि आवश्यकता समितिका कर्मचारीमा भएकाले केही कर्मचारी संगठित भएको उनले जिकिर गरे ।

‘कुनै पनि संस्थामा एकभन्दा बढी कर्मचारी संगठन हुनु कुनै नौलो कुरा त होइन’ उनले क्लिकमाण्डूसँग भने ‘नयाँ संगठनले कर्मचारीका लागि गर्नुपर्ने तर हालसम्म नभएका काम गर्छ ।’

संगठन निर्माणको सम्पूर्ण प्रक्रिया नसकिएकाले कार्ययोजनामा अझै छलफल भइरहेको शोडारीले जानकारी दिए ।

हाल समितिमा ७३ जना कर्मचारी कार्यरत छन् । जसमा ५ जना करारमा नियुक्त कर्मचारी कार्यरत छन् ।


क्लिकमान्डु