पुँजी बजारको स्थायीत्वका लागि बीमाको प्रिमियम लगानी गर्न सकिन्छ: अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुले संकलन गरेको प्रिमियम पूँजी बजारको विकासमा लगानी गर्ने हो भने पुँजी बजारलाई स्थायीत्वतर्फ लैजाने बताएका छन् ।

बीमामा ऐनलाई संशोधन गर्न बनेको विधेयकमा अर्थसमितिमा छलफलका क्रममा अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले प्रिमियमलाई पूँजी बजारमा लगानी गर्नुपर्ने बताए । उनले राष्ट्रिय बीमा संस्थान र बीमा समिति ऐनलाई खारेज गर्दै बीमा प्राधिकरण बनाउनका लागि ऐन संशोधनको क्रममा रहेको जानकारी दिए ।

प्राधिकरण बनिसकेपछि बीमा कम्पनीहरुलाई प्रतिष्पर्धी र अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने उनको दाबी छ । साथै यसले बीमा समितिलाई नियमनका लागि थप बलियो बनाउन सकिने बताए ।

उनले साना तथा लघु उद्यमीको जोखिम व्यवस्थापनका लागि ल्याएको लघु बीमा निकै प्रभावकारी रहेको र यसले कृषि र लघु उद्यमीलाई समेट्न सकेको बताए ।

अहिले एक चौथाई जनसंख्यामा बीमाको पहुँच पुगिसकेकाले आगामी दिनमा नियमनकारी निकायको भूमिका प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो ।

 


क्लिकमान्डु