दाना-कुश्मा प्रसारण लाइन वैशाखभित्रमा संचालनमा आउने
म्याग्दी । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानाबाट पर्वतको कुश्मासम्मको खण्ड आगामी वैशाखभित्रमा संचालनमा आउने (चार्ज) हुने भएको छ । ३९ किलोमिटर दाना-कुश्मा २२० केभी प्रसारण लाइन तथा दाना र कुश्मास्थित खुर्कोटमा २२०-१३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।
प्रसारण लाइन र सबस्टेसन वैशाखभित्र चार्ज गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दाना-कुश्मा खण्डमा पर्ने १ सय १० टावरमध्ये २ वटा मात्रै खडा गर्न बाँकी छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले २ वटा टावर खडा गर्न रोकिएको काम अहिले सहमति जुटेपछि धमाधम भइरहेको छ । पोखरीबगर र कुुश्मा नगरपालिकाको पाँगामा गरी करिब २ किलोमिटर मात्रै तार टाँग्न बाँकी छ । दुवै सबस्टेसनमा उपकरणहरु जडान भइसकेका छन् ।
यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताहरुले निर्माण म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत् जोडिने छ । निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको विद्युत् दाना सबस्टेसनमा जोडिने छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालसहितको टोलीले सोमबार प्रसारण लाइन, सबस्टेसन र जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ ।
टोलीले प्रसारण लाइन निर्माणमा पोखरीबगर र कुश्मामा हुनसक्ने सम्भावित अवरोध हटाउन आवश्यक व्यवस्था गरिदिन म्याग्दी र पर्वतका प्रमुख जिल्ला अधिकारीहरुलाई अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारीहरुले राष्ट्रिय महत्वको आयोजनाको टावर रहने जग्गाको मुआब्जा, लाइनको दायाँबायाँको क्षतिपूर्ति निर्धारण र निर्माण सम्पन्न गर्न आवश्यक परेमा सुरक्षा व्यवस्था उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।
टोलीले निर्माणमा खटिएका आयोजना व्यवस्थापन र ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग छलफल गरी निर्माणमा देखिएका समस्या, सबस्टेसन तथा लाइन चार्ज गर्ने मितिलगायतका विषयमा छलफल गरी वैशाखभित्रमा काम सक्न निर्देशन दिएको छ ।
‘लाइन र सबस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने मिस्त्री खोलाको विद्युत् जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था छ, त्यस्तो अवस्था आउन नदिन सबै पक्ष गम्भीर र जिम्मेवार भएर बाँकी काम जतिसक्दो छिट्टै सम्पन्न गर्नु पर्ने छ, विद्युत खेर फालेर पेनाल्टी तिर्नु पर्ने अवस्था आएमा यसको मूल्य ठेकेदार कम्पनीले तिर्नु पर्ने छ,’ घिसिङले निर्देशन दिंदै भने । ‘केही ठाँउमा निर्माणमा भइरहेको अवरोध हटाएर काम गर्न साइट उपलब्ध उराउँछौं, ठेकेदार कम्पनी निर्माणमा गम्भीर भएर लाग्नु पर्यो ।’ ठेकेदार कम्पनीले वैशाखभित्रमा लाइन तथा सबस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ ।
मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत गृहमा केही उपकरणहरुको जडान, संरचना र उपकरणहरुको ड्राइ तथा वेट टेष्ट बाँकी नै रहेकाले अझै विद्युत् उत्पादन गर्न कम्तीमा पनि दुई महिना लाग्ने उल्लेख गर्दै उनले त्यति बेलासम्ममा प्रसारण लाइन र सबस्टेसन संचालनमा आइसक्ने बताए ।
‘अब प्रसारण लाइन पूर्वाधार तयार भइसकेकाले त्यहाँ विद्युत् जडान गर्ने गरी विद्युत् खरिद बिक्री सम्झौता गरेका आयोजनाहरुले पनि निर्माण तत्काल सुरु गर्नुपर्छ,’घिसिङले भने ।
कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ ।