पर्यटनमन्त्री र चिनियाँ राजदूतबीच कोरोना रोकथामबारे छलफल



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

भेटमा कोरोनाभाइरसको सङ्क्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपया र पूर्व तयारीको बारेमा कुराकानी भएको हो ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभव बारेमा जानकारी दिइन् ।

राजदूत यान्छीले कोरोनाभाइरसको सङ्क्रमणबाट पीडित भएका ८० हजार ९ सय बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताए ।

राजदूत यान्छीले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पूरा सहयोग रहने बताए । उनले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न नेपालले अपनाएको पूर्व सर्तकता र तयारीको प्रशंसा समेत व्यक्त गरेका थिए ।

चीनले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामको लागि अपनाएका सबै खालका प्रविधि, औषधी र सूचना नेपाललाई दिन चीन तयार रहेको उनको भनाइ थियो ।

भेटमा मन्त्री भट्टराईले कोरोनाभाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेको भन्दै खुसी व्यक्त गरे । उनले कोरोनाभाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरीरहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालमा वेडको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्था लगायतका बिषयमा सरकारले गरिरहेको तयारीको विषयमा मन्त्री भट्टराईले जानकारी दिए ।

मन्त्री भट्टराईले कोरोनाभाइरसको सङ्क्रमण रोकथामको निम्ती सरकारले भिडभाड हुने कार्यक्रम, सार्वजनिक स्थलहरुमा भेला नगर्न सचेत गराएको बताए । उनले कोरोनाभाइरसको बारेमा सञ्चार माध्यमहरुबाट सचेतानामूलक सूचनाहरु पनि प्रवाह गरिएको जानकारी दिए ।

भेट मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य मन्त्रालयका चिकित्सक, सहसचिव घनश्याम उपाध्यायलगायत मतहतका निकायका प्रमुखहरुको उपस्थीति थियो । भेटमा नेपालस्थित चिनियाँ राजदूताबासका उच्च अधिकारी सहभागी थिए ।


क्लिकमान्डु