बिनोद चौधरीको सम्पत्ति साढे ३५ अर्ब रुपैयाँले घट्यो, धनीको सूचिमा पनि पछि धकेलिए



काठमाडौं । नेपालका एकमात्र अर्बपति व्यवसायी बिनोद चौधरीको सम्पत्ति ३० करोड अमेरिकी डलरले घटेको छ ।

विश्वका अर्बपतिहरुको सूचि तयार गर्ने फोर्ब्स म्यागेजिनका अनुसार अहिले चौधरीसँग १ अर्ब ४० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

गतवर्ष फोर्ब्सले विश्वका अर्बपतिहरुको सूचि तयार पार्दा उनको सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर रहेको थियो ।

फोर्ब्सको रियल टाइम सूचि अनुसार चौधरीको सम्पत्ति अघिल्लो वर्षको तुलनामा अहिले ३० करोड अमेरिकी डलरले घटेको हो । नेपाली रुपैयाँमा रुपान्तरण गर्दा यो रकम ३५ अर्ब ४० करोड नेपाली रुपैयाँ हुन्छ ।

फोर्ब्सको रियल टाइम सूचिमा सम्पत्तिको मूल्यांकनको परिवर्तन भइरहेको हुन्छ । फोर्ब्सले हरेक वर्ष मार्च महिनामा विश्वमा अर्बपतिको सूचि निकाल्छ । त्यो बेला भने तथ्यांक फरक पर्छ ।

सन् २०१३ मा फोर्ब्सको अर्बपतिको सूचिमा सूचिकृत भएपछि चौधरीको सम्पत्ति भने एकवर्ष बाहेक हरेक वर्ष बढेको थियो । सन् २०१३ मा १ अर्ब अमेरिकी डलर रहेको उनको सम्पत्ति गतवर्ष १ अर्ब ७० करोड अमेरिकी डलर पुगेको थियो ।

फोर्ब्सको रियल टाइमको सूचिमा सम्पत्ति घटेपछि धनी व्यक्तिमा उनको सूचि समेत पछाडि आएको छ । सन् २०१९ मा विश्वका १३४९औ धनी व्यक्ति रहेका चौधरी अहिले विश्वका १६४९औं धनी व्यक्ति हुन् ।

फोर्ब्सको रियल टाइम सूचिमा विश्वका अर्बपतिको सम्पत्ति कोराना भाइरसको कारण ओरालो लागेको छ ।

विश्वका सर्वाधिक धनी व्यक्ति जेफ बेजोसको सम्पत्ति ५.६ अर्ब डलरले ओरालो लागेको छ । यस्तै दोस्रो धनी व्यक्ति बिल गेट्सको ३.८ अर्ब अमेरिकी डलरले सम्पत्ति ओरालो लागेको फोर्ब्सले जनाएको छ ।


पुष्प दुलाल