मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने १५ व्यवसायी कारबाहीमा, २ लाखसम्म जरिवाना



काठमाडौं । कोरोनाको त्रास बढेसँगै मास्क र सेनिटाइजरमा ब्यापक कालोबजारी भएको छ । यसरी कालोबजारी हुन थालेपछि वाणिज्य विभागले अनुगमनलाई तीब्र बनाएको छ ।

अहिलेसम्म १५ जना व्यवसायीलाई कारबाही गरेको वाणिज्य विभागका महानिर्देशक नेत्र सुवेदीले जानकारी दिए ।

‘महंगो भउमा मास्क र सेनिटाइज बेच्ने १५ व्यवसायीलाई हामीले कारबाही गरिसकेका छौं,’ सोमबार राजधानीमा आयोजित कार्यक्रममा महानिर्देशक सुवेदीले भने, ‘हाम्रा अनुगमन अधिकृतहरु प्रत्येक दिन अनुगमनमा छन् ।’

विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्स लाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ उपदफा (ङ) को कसुरमा ३९ (१) को (ख) अनुसार २ लाख रुपैयाँ जरिवाना समेत गरिएको छ । यही फागुन १० गते अनुगमनमा गएको विभागको टोलीले सो जरिवाना गरेको हो ।

‘हामी रिटेलरबाट छिरेर होलसेलसम्म अनुसन्धान गर्दैछौं,’ सेवेदीले भने ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पूर्वतयारीका लागि सरकार तयार रहेको बताए ।

‘साव्स्थ्यसँग सम्बन्धित पूर्वतयारीका लागि आज प्रधानमन्त्री कार्यालयमा बैठक छ र आपुर्तीको विषयमा हामी तयार छौं,’ अर्यालले भने ।

सरकारसँग २० हजार मेट्रिक टन धान भएको, दशैंसम्म पुग्ने नुन भएको र ग्यासमा पनि कुनै समस्या नभएको अर्यालले दाबी गरे ।


पुष्प दुलाल