कोरोनाको त्रास देखाएर १८ रुपैयाँको नुन ४० मा बिक्री गर्दै व्यापारी
काठमाडौं । कोरोना भाइरसको त्रास देखाएर बजारमा १८ रुपैयाँमा पाइने नूनलाई व्यापारीले प्रतिकिलो ४० रुपैयाँससम्म लिन थालेका छन् ।
बजारका आयोडिन युक्त नूनको चरम कालोबजारी शुरु भएको छ । व्यापारीले मौका यही हो भन्दै नून कालोबजारी गरेपनि सरकारी निकाय भने नूनको मौज्दात रहेको भन्दै बजार अनुगमनमा कुनै चासो दिएको छैन ।
भारतले लगाएको नाकाबन्दीको समयमा समेत कुनै असर नपरेको नूनको चरम कालोबजारी भइरहे पनि वाणिज्य विभाग भने कुनै विषय नै थाहा नपाएको जसरी बसिरहेको छ ।
काठमाडौंमा पछिल्ला दिनमा नूनमा मात्रै नभई चिनी तथा अन्य खाद्य सामग्रीमा समेत चरम कालोबजारी शुरु भएको छ । व्यापारीले लिने भए लिनुस् होइन भने नूनको मूल्य प्रतिकिलो १०० रुपैयाँसम्म पुग्छ भन्दै उपभोक्ता लुट्न लागिपरेका छन् ।
नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेशनले ती वस्तुको अभाव नभएको दाबी गरेर बसेको छ । कर्पोरेशनले करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी ती वस्तुको मौज्दात रहेको जनाएको छ ।
उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको कर्पोरेशनका विभागीय प्रमुख व्रजेशकुमार झाले करिब १० महिनालाई पुग्ने नुन मौज्दात रहेको जानकारी दिए ।
उनले नूनको कुनै अभाव नरहेको भध्न्दै उपभोक्तालाई नआत्तिन आग्रह समेत गरे । तर उनको आग्रहलाई व्यापारीले कुनै पनि अवस्थामा सुन्ने अवस्थामा छैनन् । पैसा कमाउने बेला यही हो भने जसरी नूनको कालोबजारी गरिरहेका छन् ।
कर्पोरेशनसँग १ लाख ५८ हजार ५०० मेट्रिक टन नुन मौज्दात छ । नेपालको १० महिनाको माग धान्ने नुन कर्पोरेशनसँग मौज्दात रहेको छ, उनले भने –नुनको कुनै अभाव छैन ।
अहिले नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको छ । नुनको आयातमा कुनै व्यवधान नभएको पनि कर्पोरेशनले जनाएको छ ।
यसैगरी कर्पोरेशनले चिनीको पनि पर्याप्त मौज्दात रहेको भन्दै अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कर्पोरेशनसँग करिब ५ महिनालाई पुग्ने १० हजार मेट्रिक टन चिनी मौज्दात रहेको विभागीय प्रमुख झाले बताए ।
हाल २ हजार ५०० मेट्रिक टन चिनी गोदाममा छ भने ७ हजार ५०० मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमा रहेको छ । नेपालका चिनी उद्योगसँग एक लाख एक हजार मेट्रिक टन चिनी मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
त्यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब तीन महिनाको माग धान्ने गरी देशभर २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको जनाएको छ । त्यस्तै दुर्गम तथा हिमाली जिल्लामा चार हजार १६ मेट्रिक टन चामल मौज्दात रहेको छ । कम्पनीले फागुन दोस्रो सातासम्म १९ हजार ५२२ मेट्रिक टन धान खरिद गरेको छ ।
सरकारले दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै ती सामग्रीको अनावश्यक भण्डारण नगर्न र नआत्तिन सम्पूर्ण उपभोक्तामा पुनः आग्रह गरेको छ ।
उपभोग्य वस्तुको अनावश्यक भण्डारण गर्ने प्रवृत्ति मौलाएको भन्दै मन्त्रालयले शुक्रबार त्यस्ता वस्तुको मौज्दात पर्याप्त रहेको र आपूर्ति व्यवस्थामा कुनै व्यवधान नरहेको स्पष्ट पारेको थियो ।
अत्यावश्यक औषधि तथा दैनिक उपभोगका अन्य सामग्रीको आपूर्ति प्रणालीमा कुनै किसिमको प्रभाव पर्न नदिन सरकार सचेत रहेको मन्त्रालयको भनाइ छ ।
कृत्रिम अभाव सिर्जना गर्ने, वस्तुहरूको मूल्यवृद्धि गर्ने तथा मुनाफा कमाउने ढङ्गले बजारलाई प्रभावित पार्नेविरुद्ध सरकारले कठोररुपमा प्रस्तुत हुने जनाएको छ ।
दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारले त्यस्ता वस्तुको कारोवार गर्ने व्यवसायीसँग दैनिक छलफल गर्दै आइरहेको छ । सबै उद्यमी–व्यवसायीले उपभोक्ता हितलाई केन्द्रमा राखेर व्यापार–व्यवसाय गर्ने र अनुगमन टोलीलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरपनि कोही कसैले सुनुवाई गरेका छन् ।