बिमान ग्राउन्डेड गर्नेदेखि कर्मचारीलाई बेतलबी बिदा बस्न प्रोत्साहन गर्ने वायुसेवा संघको निर्णय



काठमाडौं । वायुसेवा प्रदायक संघले कोरोना भाइरसका कारण व्यवसायमा परेको अप्ठयारोलाई सम्बोधन गर्न विमान ग्राउन्डेड गर्नेदेखि कर्मचारीलाई बेतलबी बिदा बस्न प्रोत्साहन गर्ने भएको छ ।

संघको बैठकले निर्णय गरे अनुसार हवाई इन्धनमा समेत ३० प्रतिशत छुट हुनुपर्ने माग राखेको छ ।

साथै वायु सेवा प्रदायकहरुले बैंकलाई तिर्नुपर्ने ब्याजलाई नेपाल राष्ट्र बैंकमार्फत् रिफाइनान्स गरी भुक्तानीको व्यवस्था मिलाउनुपर्ने, वायुसेवा प्रदायकले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अमेरिकी डलर/नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनरतालिकिकरण र पुर्नसंरचनाको व्यवस्था गर्नुपर्ने, त्यस्ता ऋण रकमको ब्याज समेत साँवामा गाम्ने व्यवस्था मिलाउनुपर्ने संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘अमेरिकी डलरमा लिइएको ऋण रकमको साँवा र ब्याजलाई नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउनु पर्ने, हवाई इन्धनमा सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर हटाउनुपर्छ,’ विज्ञप्तीमा भनिएको छ ।

साथै नेपालमा संसारकै महंगोमध्ये पर्ने हवाई इन्धनको कम्तीमा ३० प्रतिशत मूल्य घटाउनु पर्ने, वायूयानहरुको बीमा शुल्कमा लाग्दै आएको मुल्य अभिवृद्धि कर पूर्ण छुट दिइ विदेशी पुनर्बीमा कम्पनीहरुले स्वीकार गरिसकेको अवस्थामा विदेशी पुनर्बीमा कम्पनीहरुले दिएको क्रेडिट पिरियड अनुसार बीमा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था हुनुपर्ने संघले माग गरेको छ ।

नेपाल आयल निगम माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेन्टीलाई मान्यता प्रदान गरी कम्तीमा एक महिनाको क्रेडिट पिरियडपछि भुक्तानी लिने व्यवस्था हुनुपर्ने संघको माग छ ।

साथै इन्जिनलगायत वायुयानका केही सीमित पार्टपुर्जामा दिइँदै आएको कर छुट वायुयानका सम्पूर्ण पार्टपुर्जामा उपलब्ध हुनुपर्ने, वायुयानको अवतरण, विसान तथा एयर नेभिगेशन शुल्कमा सन् २०२० वर्षभरी शतप्रतिशत छुट दिनुपर्ने माग संघले गरेको छ ।

साथै संघले खर्चमा मितव्ययीता अपनाउने, अहिले भएको वायुयानको संखया अनुसार माथ नहुने अवस्थामा प्राथमिकताका आधारमा विमान ग्राउन्डेड गर्ने, कर्मचारीलाई बिना तलब बिदामा बस्न प्रोत्साहन गर्ने र सेवा सुविधा समेत कटौती गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु