कोरोना भाइरसको नियन्त्रणका लागि के छ सरकारको योजना ?
डा. विकास देवकोटा
प्रवक्ता, स्वास्थ्य मन्त्रालय
विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै हामीले यसलाई उच्च प्राथमिकतामा राख्दै नियन्त्रणका लागि काम गरिरहेका छौं । उच्चस्तरीय कमिटी, स्वास्थ्य मन्त्रालयमा पनि अर्को कमिटी र महाशाखाको संयोजकत्वमा प्राविधिक गरी तीन वटा कमिट गठन भएका छन् ।
यसका लागि ३ वटा विषयमा काम गर्नेछ ।
जसमध्ये पहिलो, हाम्रो देशमा उत्पत्ति नभएकाले बाहिरबाट नेपाल आउनेलाई कसरी रोकथाम गर्ने प्रमुख प्राथमिकतामा छ । अहिले विमानस्थलमा स्वास्थ्य परीक्षण कडाइ गरिएको छ ।
अहिले अन्तर्राष्ट्रिय मापदण्डमा भएको थर्मल स्क्यानरबाट परीक्षण भइरहेको छ । त्यसका लागि विमानस्थलमा जनशक्ति पनि दोब्बर गरेका छौं । हरेक सिफ्टमा दिउँसो ६ जना र रातिमा ४ जना जनशक्ति राखेका छौं ।
अब भारतमा पनि कोरोना प्रभावितहरु देखिन थालेकाले स्थलगत रुपमा पनि स्वास्थ्य परीक्षण कडाइ पारिएको छ । त्यसका लागि ७ वटै प्रदेशमा जनशक्ति खटाइसकेका छौं । र, आजदेखि थप नाकामा स्वास्थ्य टोली पठाएका छौं ।
हालसम्म विमानस्थलमा शंकास्पदमध्ये २६ जनालाई टेकुस्थित अस्पतालमा पठाएका थियौं । जसमध्ये सबैको नेगेटिभ आएको छ । आज मात्रै ५ जनालाई पठाइएको छ । र, उहाँहरुको अझै रिपोर्ट आइसकेको छैन ।
साथै बजारमा मास्क अभाव भएकोतर्फ पनि हाम्रो ध्यानाकर्षण भएको छ । जसका लागि उत्पादन गर्ने कम्पनीका प्रतिनिधिसँग छलफल गरी उत्पादन बढाउन भनिसकेका छौं ।
औषधिको विषयमा हाललाई भारतले औषधि निर्यातमा रोक लगाए पनि केही समस्या छैन । हामीसँग भएको औषधि हाललाई पर्याप्त छ । तैल पनि निर्यात फुकाउन लागि प्रयास पनि जारी नै रहनेछ ।
दोस्रो संक्रमण भइहालेमा त्यसलाई कसरी नियन्त्रण गर्ने, निदान कसरी गर्ने, त्यसका लागि पूर्वाधारको कुरा छ । हलालाई शुक्रराज ट्रिपिकल अस्पताल, पाटन अस्पताल र नेपाली सेनाको अस्पताललाई पहिलो प्राथमिकतामा राखेका छौं । त्यसपछि उपत्यकामा भएका हव अस्पताललाई पनि तयारी अवस्थामा राख्न भनिसकेका छौं । जसमा ती अस्पतालको अनुगमन पनि गरिसकेका छौं । आईसीयू बेड अहिले खाली छैन भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले योजना अनुसार नै काम गरिरहेको छ । प्रदेश स्तरमा पनि अस्पताललाई तयारी अवस्थामा रहन भनिसकेका छौं ।
तेस्रोमा अन्य विविध कुरा अन्तर्गत बजारमा औषधि लगायतका कुराहरु अभाव हुन नदिने र यसका लागि अन्य निकायसँग समन्वय गर्ने विषयमा काम गरिरहेका छौं । कोरोना भाइरसको सन्दर्भमा जति पनि तयारी छ त्यो प्रदेशगतका रुपमा पनि हुन्छ । हाम्रो तयारी प्रदेश तहमा हुन्छ स्थानीय तहसँग पनि समन्वय गर्छौ ।
अर्थमन्त्री डा. युवराज खतिवडा
कोरोना भाइरसले अर्थतन्त्रमा पार्ने असरबारे अहिले नेपाल राष्ट्र बैंकले पनि यसमा थप अध्ययन गरिरहेको छ ।
अहिले अर्थतन्त्रमा लक्षण मात्रै देखिएको हो, जसरी कोरोना भाइरसको संक्रमणको लक्षण देखिन्छ र असर देखिन्छ त्यसै गरी अहिले अर्थतन्त्रमा देखिएका लक्षण मात्रै हुन् । पर्यटन र व्यापारबाट लगानीमा, निर्माणको क्षेत्रमा प्रभाव पार्ने कुराहरुको अनुमान गर्न सकिन्छ ।
अहिले हामीले बाह्य पर्यटनको प्रचारप्रसार रोक्यौ भनेका छौं त्योभन्दा बढी कुरा अहिले भनिएको छैन । नेपाल भ्रमण वर्ष स्थगित भएको अवस्थामा यो रोग विश्वव्यापी रुपमा कसरी हल हुन्छ भन्ने आधार थप कदमहरु चालिन्छन् ।