सेयर बजारलाई अनुहारसँग जोड्ने होइन, भाऊ तलमाथि हुनु बजारको सेन्टिमेन्ट होः अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा भाऊ तलमाथि हुनु बजारको सेन्टिमेन्ट भएको बताएका छन् ।
सेयर बजारमा आएको उतारचढावलाई आफूलाई जोडेर हेर्ने प्रवृतिलाई इंकित गर्दै उनले सेयर बजारलाई कुनै व्यक्ति विशेषको अनुहारसँग जोडेर हेर्न नहुने बताए ।
‘आफू लगानी गर्ने कम्पनीको वासालत, नाफा नोक्सानको अवस्था, भविष्यमा त्यसको व्यवसाय कस्तो छ ? त्यही आधारमा गर्ने हो कति बलियो भएर जान्छ त्यो हेरेर निर्णय गर्नुपर्छ,’ सरकारका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने ।
खतिवडाले लगानीकर्ताले त्यो निर्णय गर्दा राष्ट्र बैंकले नीति हेर्नुपर्ने र नीतिमा समस्या भए बसेर कुरा गर्न सकिने समेत बताए ।
‘नीति ठीक हुने, प्रणाली ठीक हुने, कम्पनीको क्षमता र स्वास्थ्य राम्रो हुने तर भाउ तलमाथि हुने भनेको बजारको सेन्टिमेन्ट हो त्यो हामी कसैसँग जोडेर हेर्नु उपयुक्त हुँदैन,’ उनले भने ।
उनले विगत २ वर्षमा पुँजीबजारमा सुधार यही बेलामा भएको बताउँदै नीति नियम बनाउने कुरामा, कर प्रणालीमा सुधार गर्ने कुरामा सुधार गरेको बताए ।
लगानीकर्ताको विषय बोल्दै उनले त्यो लगानीकर्ताकै जिम्मा भएको बताए ।
‘यू क्यान टेक हर्स टु द वाटर वट यु क्यान नट मेक इट ड्रिंक भने जस्तै अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म पुर्याइदिने हो बाँकी लगानीकर्ताको जिम्मा हो, जोखिम आफैं लिने हो,’ उनले भने ।