सहमतिका लागि बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकाल र किशोर प्रधान ‘वान टू वान’ वार्ता गर्दै



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि बरिष्ठ उपाध्यक्षका लागि उम्मेद्धारी घोषणा गरिसकेका चन्द्र ढकाल र किशोर प्रधानलबीच सहमतिका लागि ‘वान टू वान’ वार्ता हुने भएको छ ।

पूर्वअध्यक्षहरुको दबाबमा ढकाल र प्रधान सहमतिका लागि वार्तामा बस्ने भएका हुन् ।

‘किशोर दाई र मबीच दैनिकजसो टेलिफोनमा कुराकानी हुन्छ, सहमति गरेरै अघि बढौ भन्ने कुरा पनि हुन्छ,’ बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकालले क्लिकमाण्डूसँग भने, ‘तर, अहिले पूर्वअध्यक्षज्यूहरुले दुईजना बसेर सहमति गर्नुहोस् भन्नु भएको छ, हामी एक÷दुई दिनमै बस्छौं ।’

आफू सहमतिको बाधक नबन्ने ढकालले बताए । तर, देशैभर पुगेर निर्वाचनको तयारी भइसकेको पनि उनले जानकारी दिए ।

‘सहमति गरेरै अघि बढ्ने हो, मैले किशोर दाईलाई यो पटक मलाई छाडिदिनुहोस् भनिसकेको छु,’ उनले भने ।

पूर्वअध्यक्षहरुले सर्वसहमतिको इनिसिएशन लिनु अत्यन्तै सकरात्मक भएको ढकालको भनाइ छ ।

‘पूर्वअध्यक्षज्यूहरुले लिनुभएको इनिसिएशन सफल बनाउन म मेरो तर्फबाट हदैसम्मको प्रयास गर्नेछु,’ उनले प्रष्ट पारे ।

त्यसैगरी, अर्का उम्मेद्धार किशोर प्रधानले पनि चन्द्र ढकालसँग सहमतिका लागि छलफल गर्न पूर्वअध्यक्षहरुले भनेको जानकारी दिए ।

‘हामी बस्ने भन्ने कुरा भइरहेको छ, अस्ति बस्ने भनेको दिन चन्द्रजी बागलुङ जानु भयो, अहिले म उपत्यका बाहिर छु, फर्केपछि बस्छौं,’ प्रधानले सुनाए, ‘म सहमतिका लागि तयार छु ।’

ढकाल र आफूबीच अहिले टेलिफोनमा कुराकानी भइरहेको र यो पटकका लागि आफूलाई छाडिदिन आग्रह गरेको उनले सुनाए ।

‘चन्द्रजी तपाईंको समय छ, यो पटक मलाई छाडिदिनुहोस् भनेर मैले भनिरहेको छु,’ उनले भने ।

पूर्वअध्यक्षहरुको भावना र मर्मलाई उच्च कदर गर्दै आफू सहमतिका लागि हदैसम्मको लचक हुन तयार भएको प्रधानले सुनाए ।

ढकाल अहिलेका एसोसिएट र प्रधान जिल्ला÷नगरतर्फका उपाध्यक्ष हुन् । ढकालको उम्मेद्धारी घोषणामा पूर्वअध्यक्षहरु चण्डीराज ढकाल र सुरज बैद्य उपस्थित थिए भने प्रधानको उम्मेद्धारी घोषणासभामा पूर्वअध्यक्षहरु बिनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, निवर्तमान अध्यक्ष पशुपति मुरारका र भावी अध्यक्ष शेखर गोल्छा उपस्थित थिए ।

यसरी उम्मेद्धारहरुको पक्षमा पूर्वअध्यक्षहरु खुलेरै हिँडेपछि पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले सर्बसहमतिको इनिसिएशन लिएका छन् ।

‘चुनावी तिक्तताले भावी दिनमा महासंघमा टुटफुट ल्याउन सक्ने र त्यसले महासंघ कमजोर हुने विश्लेषण अरु पूर्वअध्यक्षहरुलाई सुनाएँ,’ श्रेष्ठले भने, ‘कुशकुमार जोशी सिरियस हुनुभयो । उहाँले यही फागून १५ गते बिहीबार राजधानीको रोयल रोयल सिंघी होटेलमा पूर्वअध्यक्षहरुको बैठक बोलाउनु भयो ।’

उपस्थित सबै पूर्वअध्यक्षहरु बरिष्ठ उापध्यक्ष निर्विरोध निर्वाचत गर्न सहमत भए । त्यसका लागि पूर्वअध्यक्षहरुको तर्फबाट फहल गर्न रविभक्त श्रेष्ठलाई संयोजक बनाए ।

श्रेष्ठले फागुन १६ गते चन्द्र ढकाललाईृ र १७ गते किशोर प्रधानलाई भेटेर सहमतिमा आउन आग्रह गरे ।

‘अहिले किन निर्वरोध आवश्यक छ भनेर मैले पृष्ठभूमिसहित बताएपछि दुबै जना सिरियस देखिनु भएको छ,’ उनले भने, ‘तपाईंहरु दुईजना बसेर सहमति गरेर आउनुहोस् भनेर पनि भनेको छु ।’

यो पटक त्याग गर्नेलाई त्यागको उच्च सम्मान गर्दै २ कार्यकालपछि अध्यक्ष बनाउने लिखित सहमति हुने उनले जानकारी दिए ।

‘यो पटक त्याग गर्नेलाई २ कार्यकालपछि अध्यक्ष बनाउनका लागि पूर्वअध्यक्षहरु, विद्यमान अध्यक्ष, भावी अध्यक्ष र बरिष्ठ उपाध्यक्ष लगायतका सरोकारवालाहरुको हस्ताक्षरमा लिखित सहमति गर्ने हाम्रो सोच छ,’ उनले भने, ‘त्यसो भयो भने एसुरेन्स हुन्छ ।’

त्यतिमात्रै होइन, यो पटक त्याग गर्ने बरिष्ठ उपाध्यक्षका उम्मेद्धारलाई विधान संशोधन गरेर वा नगरेर जसरी भएपनि महासंघको सक्रिय भूमिकामा राख्ने गरी सहमति हुने श्रेष्ठले बताए ।

किन आवश्यक छ सर्बसहमति ?

श्रेष्ठका अनुसार मुलुक संघीय संरचनामा गइसकेको छ । शासकीय स्वरुपहरु परिवर्तन भएका छन् । शासकीय अधिकारहरु संघ, प्रदेश र स्थानीय तह गर्दै विभाजन भइरहेको छ । अब हाम्रा प्राथमिकता राजनीतिक स्थायित्वबाट अगाडि बढेर आर्थिक मुद्दामा केन्द्रित हुनुपर्ने समय आएको छ । त्यसैले यसैका लागि पनि महासंघलाई एकजुट बनाउनु पर्नेछ । त्यसको एउटै बिकल्प भनेको सर्बसहमति नै हो ।

‘हाम्रो चाहना सबै मिलेर एकजुट भएर नै जाऔं भन्ने हो । निर्वाचनमा गएर कसैलाई पराजित गरेर केही हुने पनि होइन, अहिले महासंघलाई एकजुट बनाइ निजी क्षेत्रका समस्या समाधानका लागि काम गर्नुपर्ने समय आएको छ, त्यसैले यस्तो अवस्थामा सर्वसम्मत्को विकल्प छैन,’ उनले भने ।

विगतमा आफूले प्रदीप कुमार श्रेष्ठलाई सहमतिकै आधारमा छाडेको र पहिले प्रदिप र त्यसपछि आफू अध्यक्ष बनेको श्रेष्ठले स्मरण गरे ।

‘तत्कालिन समयमा महासंघको हितलाई ध्यानमा राख्दै मैले त्याग गरेको थिएँ र यो अहिले पनि सम्भव छ, को पहिला र को पछि अध्यक्ष बन्ने भन्ने कुराको सहमति उहाँहरु दुबैजना बसेर गर्ने हो,’ उनले भने ।


पुष्प दुलाल