सेयर बजार बढ्दा म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य बढ्यो, कस्को कति ? (सूचिसहित)
काठमाडौं । माघ महिनामा सूचीकृत सबै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । सेयर बजारमा देखिएको उछालसँगै न्याभमा पनि सुधार देखिएको हो ।
माघसम्म आइपुग्दा खुद सम्पत्ति मूल्य प्रतिइकाई १० रुपैयाँभन्दा कम हुनेमा लक्ष्मी इक्विटी फन्ड र एनआईबिएल प्रगति फण्ड छन् । प्रतिइकाइ १० रुपैयाँभन्दा कम भए पनि पुसको तुलनामा माघमा न्याभमा भने सुधार देखिएको छ ।
सेयर बजारमा लगानी गर्नकै लागि भनेर फण्डको व्यवस्था गरिएको हो । तथापि नेपालमा म्यूचुअल फण्डहरुले सेयरमा लगानी गर्नुभन्दा पनि मुद्दति निक्षेपमा राखेर ब्याज खाने प्रचलन बढेको जानकारहरुको भनाइ छ ।
तर पछिल्लो समयमा बजार बढेको मौकामा फण्डहरुले सेयर बजारमा गर्ने लगानीलाई बिस्तारै बढाएको देखिएको छ । तर अपेक्षाकृत रुपमा फण्डले गरेको लगानीमा सुधार भने कमै छ ।
पुस महिनामा ९ अर्ब २१ करोड ४३ लाख ८ हजार १५९ रुपैयाँ सूचिकृत सेयरमा लगानी गरेका १८ वटा म्यूचुअल फण्डहरुले माघ महिनामा ८ अर्ब ९४ करोड २४ लाख ६४ हजार ४१५ रुपैयाँ मात्रै लगानी गरेका छन् । १८ वटामध्ये ६ वटाको सूचिकृत सेयरमा लगानी घटेको छ भने बाँकी १२ वटाको बढेको छ ।
माघ महिनामा एनएमबि फिफ्टी, लक्ष्मी इक्विटी फन्ड, नबिल इक्विटी फन्ड, सिटिजन्स म्युचुअल फन्ड-१, सिटिजन्स म्युचुअल फन्ड-२, सिद्धार्थ इक्विटी फन्ड, ग्लोबल आइएमई समुन्नत योजना–१ को सूचिकृत सेयरमा लगानी घटेको छ भने बाँकी फण्डहरुको सूचिकृत सेयरमा लगानी बढेको छ ।
यता म्यूचुअल फण्डहरुको बैंक मौज्दात भने बढेको छ । पुस महिनामा ५ अर्ब २१ करोड ८२ लाख ५७ हजार ५१८ रुपैयाँ थियो भने माघमा आइपुग्दा ५ अर्ब ६८ करोड ८८ लाख २९ हजार ७३८ रुपैयाँ पुगेको छ ।
बैंक मौज्दात घट्ने फण्डहरुमा एनएमबि फिफ्टी, एनआईबिएल सहभागिता फन्ड, एनआईबिएल समृद्धि फन्ड-१, सानिमा इक्विटी फन्ड, एनआईसी एसिया ब्यालेन्स फण्ड र सनराइज फस्र्ट म्यूचुअल फण्ड रहेको छ । बाँकी रहेका १२ वटा फण्डको बैंक मौज्दात बढेको छ ।