काठमाडौं–नारिता उडान शुरु, सातामा ३ दिन नियमित उडान हुने



काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारितासम्मको नियमित उडान सोमबारदेखि शुरु भएको छ । यसअघि जापानको ओसाकामा उडान गर्दै आएको नेपाल एयरलाइन्सले नारितामा पनि उडान शुरु गरेको हो ।

निगमका अनुसार नारितामा सातामा ३ दिन सोमबार, बुधबार र शुक्रबार सिधा उडान हुनेछ । एयरबस वाइडवडीबाट गरिने सिधा उडान सोमबार राति १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको थियो ।

विमान आजै अपरान्ह् ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण पनि गरिसकेको छ । नारिता जाँदा २३४ यात्रुहरुले विमानबाट यात्रा गरेको थिए भने फर्कदा २६५ जनाले यात्रा गरे ।

नारिताको पहिलो उडानमा नै यात्रुहरुको यो संख्यालाई उल्लेखनीय मानिन्छ भने आगामी दिनका उडानहरुको लागि पनि राम्रै संख्यामा यात्रुहरुले बुकिङ गरेको निगमको भनाइ छ ।

नारिताको उडान प्रारंभ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झंझट समेत समाप्त भएको निगमको भनाइ छ ।


क्लिकमान्डु