कोरोनाः अत्यावश्यक बाहेक विदेश जान कडाइ गरिँदै, ‘ट्राभल एड्भाइजरी’ जारी गर्ने तयारी



काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले विदेश जाने यात्रुलाई कडाइ गर्ने तयारी गरेको छ ।

आइतबार बिहान भएको छलफलमा यसका लागि ‘ट्राभल एड्भाइजरी’ जारी गर्ने तयारी भइरहेको छ । यसै विषयमा आइतबार दिउँसो सिंहदरबारमा छलफल समेत भइरहेको छ ।

छलफलमा सहभागी एक अधिकारीका अनुसार यसअघि आगमनमा मात्रै कडाइ गर्दै आइएकोमा अब आगामनसँगै प्रस्थान गर्ने यात्रुहरुको समेत स्वास्थ्य परीक्षण समेत गरिनेछ ।

नेपालबाट गएका यात्रुहरु धमाधम विदेशबाट फर्काइन थालेसँगै सरकारले समेत अत्यावश्यक काम बाहेकका हकमा विदेश जान कडाइ गर्ने तयारी गरेको छ ।

आइतबार बिहान मात्रै वैदेशिक रोजगारीका लागि बहराइन पुगेका ३८ जना नेपाली फर्काइएको छ । भने एक सातामा दक्षिण कोरियाबाट १० जनाभन्दा बढी नेपाली फर्काइएको छ ।

‘ट्राभल एड्भाइजरी जारी गर्ने विषयमा छलफल भइसकेको छ, आज साँझ वा भोलिसम्ममा अध्यागमन वा परराष्ट्र मन्त्रालयले सूचना जारी गर्ने प्रस्ताव आएको छ,’ ती अधिकारीले भने ।

पर्यटनमन्त्री योगेश भट्टराईले ट्राभल एड्भाइजरी जारी गर्ने विषयमा आइतबार बिहान सरोकारवाला नियकाको छलफलमा प्रस्ताव गरेका थिए ।

त्यति मात्रै होइन, सरकारले नेपाल आउने केही अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने विषयमा छलफल भएको ती अधिकारीले बताए ।

उनका अनुसार नेपाल कोरोना भाइरसको उच्च जोखिममा भएको भन्दै सतर्कता अपनाउनका लागि मन्त्रीले उक्त प्रस्ताव गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै जर्मनको बर्लिनमा आगामी मार्च ४ देखि शुरु हुन लागेको आईटिबी बर्लिन कार्यक्रम समेत स्थगित भइसकेको छ ।

विश्वका १८० देशका टुर कम्पनीहरु सहभागी हुने भनिएको उक्त मेला स्थगित भएको शुक्रबार सूचना सार्वजनिक गरिएको थियो । कोरोनाको संक्रमण बढेसँगै कार्यक्रम रद्द गर्ने निर्णय गरिएको आयोजकको भनाइ छ ।

त्यस्तै, सरकारले अन्तर्राष्ट्रिय सभा सम्मेलन पनि स्थगित गर्ने तयारी समेत गरेको छ । जसअनुसार आगामी चैत २० गतेदेखि २२ गतेसम्म हुने भनिएको सगरमाथा संवाद कार्यक्रम पनि स्थगित हुने सम्भावना बढेको ती अधिकारीले जानकारी दिए ।

ट्राभल एड्भाइजरी जारी गर्ने वा नगर्ने, नेपाल भित्रने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन वा नलगाउने र अन्तर्राष्ट्रिय सभा सम्मेलन रोक्ने वा नरोक्ने भन्ने निर्णय आइतबार साँझ बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय लिन सक्ने सम्भावना छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझा मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

कोरोना भाइसरको संक्रमणबाट हालसम्म झण्डै ३ हजार जनाको मृत्यु भइसकेको छ । भने तीव्ररुपमा विश्वका अधिकांश देशमा फैलिइसकेको छ ।

यसअघि पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लक्षित विदेशमा गर्ने प्रचार प्रसार कार्यक्रम मार्च महिनाभरी स्थगित गर्ने निर्णय गरिएको बताइसकेका छन् ।


क्लिकमान्डु