विदेशमा गरिने पर्यटन प्रचार स्थगित गर्ने पर्यटनमन्त्रीको घोषणा, आन्तरिक पर्यटन प्रर्बद्धन गरिने



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालले विदेशमा गर्ने पर्यटनको प्रचारप्रसार तत्कालका लागि स्थगित गरिने बताएका छन् ।

शनिबार राजधानीमा पर्यटन प्रबद्र्धनका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले तत्कालका लागि विदेशमा गरिने कार्यक्रमलाई स्थगित गर्ने बताए ।

‘तत्कालका लागि विदेशमा हुने पर्यटन प्रचार प्रसारको कार्यक्रमलाई केही समय स्थगित गर्दै हामी देशभित्रको पर्यटन प्रबद्र्धनको काममा बढी केन्द्रि हुनेछौं,’ उनले भने ।

कोरोना भाइरसका कारणले चीनबाट आउने पर्यटनको संख्यामा उल्लेख्य कमी आएको थियो । अध्यागमन विभागका महानिर्देशन ईश्वरराज पौडेलका अनुसार पहिलेको तुलनामा नेपाल आउने चिनियाँ पर्यटको संख्या ७५ प्रतिशतले कमी आएको बताए ।

‘पहिले दैनिक औसत २२÷२३ सय चिनियाँ पर्यटक आउने गरेकोमा अहिले त्यो संख्या घटेर ३ देखि ४ सयमा सीमित भएको छ ।

यसअघि शुक्रबार विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको मुलुकमा राखेको थियो । त्यस्तै, केही समय अघि मात्रै पर्यटनमन्त्री भट्टराईले नेपाल कोरोनामुक्त रहेको सन्देन दिने चिनियाँ भाषामै सामग्री तयार पारी चीनका सञ्चारमाध्यमबाट प्रसारण गर्ने बताएका थिए । त्यसपछि उनको आलोचना समेत भएको थियो ।


क्लिकमान्डु