सेयर बजार अर्थमन्त्री खतिवडाको ह्याङबाट मुक्त, परिसूचक १६३२ पुग्दा साढे ४ अर्बको कारोबार



काठमाडौं । तीव्र उतारचढाव भएपनि साताको अन्तिम दिन बिहीबार सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ ।

घट्ने र बढ्ने क्रमका बीच बिहीबार नेप्से परिसूचक ३६.०५ अंकले बढेर १६३२.१७ बिन्दुमा पुगेको छ । सेयर बजार तीनवर्षकै उच्च बिन्दुमा पुगेको हो । कारोबारमा भने बिहीबार पुनः नयाँ रेकर्ड कायम भएको छ । बुधबार ४ अर्ब १५ करोडको कारोबारको रेकर्डलाई तोड्दै बिहीबार ४ अर्ब ४६ करोड करोड रुपैयाँको कारोबार भएको छ ।

बिहीबारको कारोबारमा लगानीकर्ताको आकर्षण वाणिज्य बैंक र विकास बैंकमा देखिएको छ । सेयर बजार बढेपनि लगानीकर्ताको आकर्षण बैंकिङ क्षेत्रमा देखिएको थिएन । तर,बैंकिङ क्षेत्रमा देखिएको आकर्षणले सेयर बजार बुलिस टे«ण्डमा गएको संकेत दिएको छ ।

सेयर बजार अब अर्थमन्त्री डा युवराज खतिवडाको ह्याङबाट समेत मुक्त भएको देखिएको छ । अब डा खतिवडाको निरन्तरता हुने वा नहुँने कुराले बजारलाई प्रभाव नपार्ने बिहीबारको कारोबारले देखाएको छ ।

बैंकिङ क्षेत्र ८३.२९ अंकले बढेको छ भने विकास बैंकको सूचक ३८.६५ अंकले बढ्यो भने निर्जीवन बीमा सूचक १६.४५ अंकले बढेको छ ।

मुख्य रुपमा एभरेष्ट,नबिल,हिमालयन,स्टाण्र्डर्ट चाटर्ड बैंक,एनआईसी एशिया,एसबिआई बैंकमा लगानीकर्ताको आकर्षण बिहीबार बढी देखिएको थियो ।

यसअघि बढेको जीवन बीमा कम्पनी र लघुवित्तको सेयर बेचेर लगानीकर्ताले बैंकको सेयर खरिद गरेको देखिन्छ । बिहीबार नेप्सेमा १८० कम्पनीको १० लाख ८५ हजारवटा कारोबारबाट ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ ।


क्लिकमान्डु