आइपीओ निकाल्न लागेको लिबर्टीको माथिल्लो दोर्दी ‘ए’को विजुली बैशाखमा बल्ने



लमजुङ । लिबर्टी ईनर्जीले लमजुङको दोर्दी खोलामा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको भौतिक निर्माण ९६ प्रतिशत सम्पन्न भएको छ ।

कूल २५ मेगावाट क्षमताको सो आयोजनाको सबै काम करिब करिब अन्तिम चरणमा पुगेको र आगामी वैशाखभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडने तयारी गरिएको छ ।

आयोजनाको अधिकांश निर्माण सकिएको छ । यस्तै बाँधस्थल तथा विद्युत् गृहमा केही मात्रै काम बाँकी रहेको छ ।

त्यस्तै उत्पादित विद्युत् जोडनका लागि प्रसारण लाइन तथा सवस्टेशनको समस्या नभएपनि नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको प्रसारण लाइनको काम सकिए वैशाखभित्रै आयोजना प्रणालीमा जोडिनेछ ।

नेपाल विद्युत प्राधिकरणले आयोजन नजिकै १३२/२२० केभी क्षमताको सवस्टेशन निर्माण गरिरहेको छ । सवस्टशेनको काम समेत अन्तिम चरणमा पुगेको छ । प्रसारणलाइनको काम पनि ६० प्रतिशत जति सकिएको प्राधिकरणले जनाएको छ ।

टावर रहने स्थानको फाउण्डेशन तयार भइसकेको र टावर ठड्याउन तथा तार तान्न बाँकी रहेको छ । केही स्थानमा तार तान्ने काम समेत शुरु भइसकेको छ ।

ऊर्ना नदीको रुपमा परिचित दोर्दी करिडोरमा हाल ५ वटा विभिन्न जलविद्युत् आयोजना निर्माण भइरहेको छ । अन्य ५ आयोजना निर्माणमा जाने तयारीमा छन् ।

आयोजनाबाट गत वर्षनै विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर गत वर्षामा आएको बाढीका कारण सो आयोजना समस्यामा पर्यो । काम गरिरहेका मजदुर समेत बाढीमा परेर मृत्यु भयो । केही स्थानीय समस्या, प्रसारण लाइन निर्माण सम्पन्न नहुँदा विद्युत उत्पादन अवधि लम्बिएको आयोजनाका लगानीकर्ता समेत रहनु भएका राम पाण्डेको भनाइ छ ।

पाण्डेले भने– गत साउनमा दोर्दी खोलामा आएको भीषण बाढीका कारण हेडवक्र्समा क्षति पुर्याउँदा पनि निर्माणमा समस्या उत्पन्न भएको थियो । बाढीले बगाएर केही कामदारको मृत्यु भएपछि करिब एक महिना काम ठप्प भयो ।

प्राधिकरणले प्रसारण लाइनको काम समयमा सम्पन्न गरेमा बैशाखभित्रमा कम्पनीले विजुली उत्पादनको काम थाल्ने कम्पनीका सञ्चालक पाण्डेको भनाइ छ ।

कम्पनीले अहिले पावर हाउस, सुरुङ तथा बाधको पूर्वाधार निर्माण काम अन्तिम अवस्थामा रहेको छ । आयोजनाको पावर हाउस र विद्युत् प्राधिकरणले बनाउने सबस्टेसनको दूरी भने अन्य जलविद्युत् आयोजनाको तुलनामा निकै नै कम भएकाले पनि आयोजनालाई थप सहज बनेको छ ।

अहिले प्राधिकरणले पनि प्रसारणलाइनको कामलाई प्राथमिकता दिएको हुँदा बैशाखसम्ममा आयोजनाको कामपनि सकिने र प्रसारण लाइनमा विजुली जोडिने सम्भावना बलियो भएको पाण्डे बताउँछन् ।

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको काम समयमा गर्न नसक्दा समेत निजी क्षेत्रले उत्पादन गरेको विजुली खेर जाने स्थिती पैदा भएको छ । कम्पनीका अनुसार हालसम्म आयोजनाको काम ९६ प्रतिशत सकिएपनि प्रसारण लाइनका कारण थप जटिलता पैदा भएको छ ।

कूल ५५६ जना संस्थापक सेयरधनी रहेको लिबर्टीले माथिल्लो दोर्दी ‘ए’को लागि विद्युत् उत्पादनको अनुमति २०७१ साल बैशाख १५ मा अनुमति पाएको थियो ।

कम्पनीमा संस्थापकहरुको ७५ प्रतिशत सेयर स्वामित्व हुने छ भने आयोजना प्रभावितको लागि १० प्रतिशत छुट्याउने व्यवस्था गरिएको छ । आयोजना प्रभावित जनताका लागि खोलिने आइपिओ अन्तिम चरणमा रहेको कम्पनीका संंचालक पाण्डेले जानकारी दिए ।

जसमा आयोजनाको अति प्रभावित दोर्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ को लागि स्थानीयको लागि छुट्याएको सेयरमा ३३.३३ प्रतिशत ५ लाख कित्ता, यसपछि ३३.३३ प्रतिशत दोर्दी गाउँपालिकाका बाँकी वडा र बेसिसहर नगरपालिकाको वडा नम्बर ११ को लागि र बाँकी सेयर लमजुङका सबै नागरिकले आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितको लागि छुट्याएको आइपीओ निष्कासन भएपछि सर्वसाधारणको लागि आइपीओ खुल्ने पाण्डेले बताए ।

आयोजनाको कुल लागत ४ अर्ब ६३ करोड ६० लाख हुने छ । यस आधारले प्रतिमेगावाट १८ करोड ५४ लाख पर्ने देखिन्छ । अहिलेको अवस्थामा कम्पनीले विद्युत् उत्पादन गरेको ८ वर्ष २ महिनामा लागत उठाउने छ ।


क्लिकमान्डु