नेपाल कोरोना भाइरसमुक्त रहेको सन्देश दिन चिनियाँ सञ्चामाध्यमबाट प्रचारप्रसार गरिने



काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री योगेश भट्टराईले नेपाल कोरोना भाइरसमुक्त रहेको जानकारी दिन नेपाली, हिन्दी र चिनियाँ भाषामा सामग्री तयार पारी ३ दिनभित्र व्यापक प्रचार गर्न निर्देशन दिएका छन् ।

मंगलबार मन्त्री भट्टराईले ५ बुँदे निर्देशन दिँदै तीन दिनभित्र ३ वटा भाषामा सामग्री तयार पारी मन्त्रालय, विदेशस्थित नेपाली नियोग, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटन सम्बद्ध निजी क्षेत्रका वेवसाइट तथा सामाजिक सञ्जालमा समेत राख्न निर्देशन दिएका हुन् ।

त्यस्तै, चीनले सामना गरिरहेको संकटप्रति नेपालको पूर्ण साथ रहेको बताउँदै चिनियाँ पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश दिन श्रव्यदृश्य सामग्री चिनियाँ भाषामा तयार पारी ७ दिनभित्र चिनियाँ सञ्चारमाध्यममा प्रसारण गर्न निर्देशन दिएका छन् ।

साथै, पर्यटन क्षेत्रमा देखिएको नयाँ परिस्थितीमा बजार प्रबद्र्धनका लागि वैकल्पिक उपाय अबलम्बन गर्न १२ वटा प्रमोसनल डेस्क खडा गर्न समेत निर्देशन दिएका छन् । साथै नेपालमा उडान गर्न इच्छुक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई प्रोत्साहन गर्ने, पर्यटन स्रोत बजारलाई लक्षित गरी उडानका लागि आवश्यक प्रक्रिया तथा तयारी गर्न समेत निर्देशन दिएका छन् ।

चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य कमी आएको छ । भने नेपालबाट चीनका विभिन्न ५ वटा गन्तव्यमा उडान गर्दै आएको हिमालय एयरलाइन्सले समेत ३ वटा गन्तव्यका उडान रद्द गरिसकेको छ ।

साथै अन्तर्राष्ट्रिय रुपमा विभिन्न विदेशी एयरलाइन्सले समेत चीनमा हुने उडान मार्च महिनासम्मका लागि स्थगित गरेका छन् । भने अष्ट्रेलियाले चीनबाट र चीन हुँदै जाने विदेशी नागरिकलाई यात्रा नगर्न भनिसकेको छ । यदी त्यसरी यात्रा गरेमा भिसा रद्द हुने समेत जानकारी दिइसकेको छ ।

चीनमा कोरोना भाइरसका कारण हालसम्म १७ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ७० हजारभन्दा यसबाट संक्रमित भइसकेका छन् । चीनका सञ्चारमाध्यमका अनुसार ४ सयभन्दा बढी संक्रमितहरु उपचारपछि निको भइसकेका छन् ।


क्लिकमान्डु