सञ्चारमाध्यमलाई देश विकास हुन लाग्यो कि चिन्ता लाग्छ- प्रधानमन्त्री ओली



काठमाडौं । सोमबार बिहान साढे ९ बजे । प्रहरी तालिम केन्द्रको हलमा उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढिकरण र स्वालित गर्ने कार्य सम्बन्धि कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक सञ्चारमाध्यमप्रतिको कुण्ठा पोखे ।

पटकपटकका भाषणमा सञ्चारमाध्यमप्रति रुष्ट देखिने प्रधानमन्त्री सोमबार पनि त्यही कुरा दोहोर्याए । उनले केही सञ्चारमाध्यमले विकासको काम गरेको देख्न नसकेको आरोप लगाए ।

‘मैले केही भनेको छु, केही सञ्चारमाध्यम, सबै भनेको होइन तर समाचारमा केही हट्छ र सबै सञ्चारमाध्यम मात्रै आउँछ, उनीहरु विकासको काम भएको देख्नै सक्दैनन्,’ उनले भने ।

कहिले तिमी भनेर सम्बोधन गरेको त कहिले सरकारको राम्रो काम लेख्न नसक्ने मुटु नभएका सम्पादक भनेर सञ्चारमाध्यमको खेदो खनिरहने प्रधानमन्त्री ओलीको पुरानै शैली हो ।

उनले सञ्चारमाध्यमलाई मात्रै होइन, केही विद्धानहरुलाई समेतलाई सरकारको कामको आलोचना गरेको भन्दै रिस पोखे ।

आफू पहिलो पटक प्रधानमन्त्री भएका बेलामा तुइन विस्तापित गर्छु भनेको तर अहिले केही ठाउँमा बाँकी रहेको कुरालाई ठूलो इस्यु बनाएको उनले गुनासो गरे ।

‘तुइन विस्तापित भइसक्यो, तर दार्चुलामा २ ठाउँ बाँकी रहेछ, त्यहाँसम्म पुगेर पनि सञ्चारमाध्यमकले फोटो छापे, मिहेनत त गरेकै हो,’ उनले भने ।

उनले हरेक दिन ५ किलामिटरभन्दा बढी सडक पिच भइरहेको र २ वर्षमा मात्रै ३ हजार किलोमिटर बाटो पिच जस्ता राम्रो कामबारे सञ्चारमाध्यमले नलेखेको समेत बताए ।


क्लिकमान्डु