पाल्पा महोत्सवमा स्वास्थ्यमन्त्रीले भने- उपचार खर्चको अभावमा कोही पनि मर्नुपर्दैन



तानसेन । बिहीबारदेखि पाल्पाको सदुमुकाम तानसेनमा पाल्पा महोत्सव शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले महोत्सवको उद्घाटन गर्दै सरकार सर्वसाधरणको स्वास्थ्यको विषयमा गम्भीर रहेको भन्दै स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने बताए ।

उनले उपचार खर्चको अभावमा कुनै पनि नागरिकका मृत्युको खबर सुन्न नपरोस् भन्ने वातावरण तयार पार्न सरकार लागिरहेको र यसमा उद्योगी व्यवसायीको समेत भूमिका महत्वपूर्ण हुने बताए ।

‘पाल्पाको समृद्धिको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा २७५ भन्दा बढी स्टल छन् । महोत्सवमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्री, पाल्पाली करुवा र ढाका जस्ता स्टललाई प्राथमिकता दिइएको मेला आयोजक पाल्पा चेम्बरका अध्यक्ष चिरञ्जीवि पोखरेलले बताए ।

मेलामा बिभिन्न जातजातिका कला संस्कृतिसँगै दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

कार्यक्रमका विशेष अतिथि नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कृषि र पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला पाल्पाको ढाका कपडा र करुवाको विदेशमा निर्यात हुने गरी उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने बताए ।

मेलामा स्थानीय संस्कृति घाटु नाच, ठूलो नाँच, सोरठी, करुवा, ख्याली, भजन, रोइला, चुट्का, फागु नाच, लाखेनाच, झ्याउरे जस्ता संस्कृतिको संरक्षणको लागि समेत प्राथमिकता दिइएको छ । एक लाखबढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव फागुन ११ सम्म चल्नेछ ।


क्लिकमान्डु