भ्यालेन्टाइनका लागि १ लाख ५० हजार गुलाब आयात, आन्तरिक उत्पादन ५ प्रतिशतले बढ्यो
काठमाडौं । भ्यालेन्टाइन डेलाई लक्षित गरी भारतबाट ५० लाख रुपैयाँ बराबरको स्टिक गुलाब भारतबाट आयात गरिएको छ ।
आन्तरिक बजारले गुलाबको मागलाई धान्न नसक्दा प्रत्येक वर्ष भारतसँगै तेस्रो मुलुकबाट गुलाब आयात गर्नुपरेको छ ।
‘चिसोका कारण नेपालमा गुलाबको उत्पादन कम भएको छ, तै पनि आन्तरिक उत्पादन ५ प्रतिशतले बढी २५ प्रतिशत पुगेको छ,’ व्यवसायी विश्वमणी पोखरेलले भने ।
उनका अनुसार भारतका बैंग्लोर, कलकत्ता, पुणे र नयाँ दिल्लीबाट १ लाख ५० हजार आयात गरिएको छ ।
‘हाम्रो माग २ लाख हो, जसमा काठमाडौंमा १ लाख ५० हजार स्टिक र बाहिर ५० हजार छ,’ उनले भने ।
उनका अनुसार थोकमा ३५ रुपैयाँमा गुलाब ल्याइए पनि खुद्रा मूल्य भने ७० रुपैयाँदेखि १ सय रुपैयाँसम्म पर्छ । भ्यालेनटाइन डेको दिनमा माग बढ्दा यो मूल्य सबैभन्दा बढी हुन्छ ।
उनका अनुसार सामान्य गुलाबलाई ५० रुपैयाँपर्छ भने फ्रेस र राम्रो गुलाबलाई ७० देखि ९० रुपैयाँसम्म पर्छ । साथै डेकोरेसन गरिएको गुलाबको मूल्य १ सय रुपैयाँभन्दा माथि हुन सक्छ ।
गत वर्षको तुलनामा ५ प्रतिशत मूल्य वृद्धि भएको समेत उनले बताए ।
‘थोकमा ५ प्रतिशत मूल्य वृद्धि भएको छ भने खुद्रामा पनि सोही अनुसार मूल्यवृद्धि भएको छ,’ उनले भने ।
हाल नेपालमा ७०० किसानले १५३ हेक्टर क्षेत्रफलमा गुलाब उत्पादन गर्दै आए पनि त्यसले बजारको माग पूरा गर्न सक्दैन ।