चीनको बुहान सहरमा रहेका नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको विमान शनिबार जाने



काठमाडौं । नोबेल कोराना भाइरसको सन्त्रासमा रहेका नेपाली विद्यार्थीलाई लिन शनिबार नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ ।

चीनको हुवेइ प्रान्तमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीलाई उद्दार नगरेको भन्दै सरकारको आलोचना भएपछि सरकारले फागुन ३ गते विद्यार्थी ल्याउने निर्णय गरेको थियो ।

सोही अनुरुप फागुन ३ गते नेपाल एयरलाइन्सको विमान चीन जाने नेपाल वायु सेवा निगमकी प्रवक्ता अचर्ना खड्काले जानकारी दिइन् ।

उनका अनुसार विमानमा तीन जना पाइलट, ६ जना क्याबिन क्रयूका साथै एक जना इन्जिनियर, एक जना लोड मास्टर र ४ जना डाक्टर चीन जानेछन् ।

नेपाल एयरलाइन्सको एयरवस ३३० विमान शनिबार पौने ३ बजे चीन प्रस्तान गर्नेछ भने आइतबार बिहान नेपाल फर्कने कार्यतालिका छ ।

चीनमा फैलिएको नोबेल कोरोना भाइसरका कारण हालसम्म १ हजार ३०० भन्दा बढीको मृत्यु भइसकेको छ भने ६० हजारभन्दा बढी संक्रिमत भइसकेका छन् ।

त्यस्तै हालसम्म सो रोगका कारण २ जना विदेशी नागरिकको मृत्यु भइसकेको छ । भने पछिल्लो पटक एकदिनमै १५ हजार नयाँ संक्रमितको पहिचान भइसकेको छ ।

चीनमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले लामो समयदेखि आफूहरुलाई सकुशल उद्दार गर्नका लागि सरकारसँग पटक-पटक आग्रह गर्दै आएका थिए ।

अमेरिका, भारतलगायतका देशले आफ्ना नागरिक विमान चार्टर्ड गरी ल्याइसक्दा समेत नेपाल सरकारले त्यसतर्फ कुनै चासो नदेखाएको भन्दै चर्को आलोचना समेत भएको थियो ।

चीनबाट ल्याइने विद्यार्थीहरुलाई १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । त्यसका लागि भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्रमा राखिनेछ । त्यसका लागि अहिले सम्पूर्ण तयारी पूरा भइसकेको सरकारको भनाइ छ ।

उनीहरुलाई १४ देखि १७ दिनसम्म निगरानीमा राखिनेछ । खरिपाटीस्थित स्थानीयहरुले विद्युत तालिम केन्द्रमा विद्यार्थी राख्ने विषयमा विरोध गर्दै आएका थिए ।
चीनमा रहेका १८० जना विद्यार्थीहरुले आफू नेपाल फर्कनका लागि नाम समेत टिपाइ सकेका छन् ।

अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान स्थगित
चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै चीनमा विभिन्न गन्तव्यमा हुने अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएका छन् । अन्र्राष्ट्रिय विमान कम्पनीहरुले आगामी मार्च महिनासम्मका लागि उडान रद्द गरेका हुन् ।

चीनका विभिन्न ५ वटा गन्तव्यमा उडान गरिरहेके नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले ३ वडा गन्तव्यको उडान स्थगित गरिसकेको छ । भने चीनमा उडान गर्ने अमेरिकन एयरलाइन्सले पनि उडान स्थगित गरिसकेका छन् । त्यस्तै, एयर फ्रान्सले फेब्रुअरी ६ देखि मेनल्यान्ड चीनमा उडान स्थगित गरेका छन् भने दक्षिण कोरियाको एयर सोउल, एयर तान्जानिया, अष्ट्रियन एयरलाइन्स, ब्रिटिस एयरलाइन्स, डेल्टा एयरलाइन्स, इजिप्टियन एयर, इल अल इजरायल एयरलाइन्स, फिनएयर, इबेरिया एयरलाइन्स, जेजु एयर, केन्या एयर, केएलएम एयर, लायन एयर, ओमन र साउदीका विमान कम्पनी, कतार एयर, नोर्डिक एयर, स्कुट एयर, युनाइटेड एयरलाइन्स, भिटजेट र भियतनाम एयर, हङकङ र मकाउका एयरलाइन्स समेत उडान रद्द गरिसकेका छन् ।


क्लिकमान्डु