अर्थमन्त्री खतिवडाको दाबी: सेयर बजारमा उल्लेख्य सुधार
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु अर्थिक वर्षको ६ महिनामा सेयर बजारमा उल्लेख सुधार भएको तर्क अघि सारेका छन् । अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०७६-०७७ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री खतिवडाले यस्तो तर्क गरेका हुन् ।
मन्त्री खतिवडाले नेप्से सूचक गत वर्षको यही अवधिको तुलनामा ८५ प्रतिशतले वृद्धिभई १२६३.४ बिन्दुमा पुगेको जनाएका छन् । उनले यो अवधिमा धितोपत्र ऐनमा संशोधन गर्न बनेको विद्येयक संघीय संसदमा पेश भएको बताए । मन्त्री खतिवडाले समिक्षा अवधिमा नेप्सेमा सूचिकृत संस्था २१२ पुगको जानकारी गराउँदै सूचिकृत धितोपत्रको किताबी मूल्यमा पनि करिब ५ प्रतिशतले वृद्धि भएको जानकारी गराए ।
मन्त्री खतिवडाले डिम्याट खाताको संख्या समिक्षा अवधिमा ५९ हजारले बढेर पुस मसान्तसम्ममा १६ लाख ७ हजार ६६८ पुगेको बताए । मन्त्री खतिवडाले दोस्रो बजारमा संस्थागत ऋणपत्रको अनलाइन कारोबार सुरु भएकोमा खुसी समेत व्यक्त गरेका छन् ।
चालु आर्थिक वर्षको समीक्षा अवधिमा सेयर बजारको पुँजीकरणमा सुधार समेत भएको छ । पुस मसान्तसम्ममा बजार पुँजीकरण १६ खर्ब १० अर्ब ६८ करोड ९३ लाख रुपैयाँ कायम भएको मन्त्रीको भनाई छ । जुन गत पुस मसान्तमा बजार पुँजीकरण १४ खर्ब ३६ अर्ब ६७ करोड २५ लाख रुपैयाँ रहेको मन्त्रीको भनाई छ ।
धितोपत्र बोर्डबाट १६ वटा संगठित संस्थाले २० खर्ब बराबरको सार्वजनिक निष्कासनका लागि अनुमति प्राप्त गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २१.२ प्रतिशत वृद्धि भएको मन्त्रीको भनाई छ ।
मन्त्रीका अनुसार धितोपत्रको दोस्रो बजारमा ५ लाखभन्दा बढीको कारोबार गर्ने लगानीकर्ताहरु स्थायी लेखा नम्बरसहितको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आबद्ध भएको मन्त्रीको तर्क छ ।