पर्यटन सचिव अधिकारीद्वारा निगम अध्यक्षको पदभार ग्रहण



काठमाडौं । पर्यटन सचिव केदारबहादुर अधिकारीले नेपाल वायु सेवा निगमको अध्यक्षको पदभार ग्रहण गरेका छन् । बुधबार निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गर्दै संस्था सुधारका लागि कुन मोडलमा जाने भन्ने कुरा अध्ययनको आधारमा सिफारिस गर्नुपर्ने उल्लेख गरे ।

उनले व्यवस्थापन सामूहिक प्रयासमा अघि बढनुपर्ने उल्लेख गर्दै विश्व का कतिपय विमान कम्पनी व्यवस्थापन फितलो हुँदा घाटामा गइरहेका वा धराशायी भएको बताउँदै त्यसबाट सिकेर संस्थालाई अगाडि बढाउनुपर्ने र निगम व्यवस्थापन चुस्त दुरुस्त बनाउनु पर्ने सल्लाह दिए ।

विश्वमा पर्यटन व्यवसाय तीव्र प्रतिस्पर्धामा गएकाले निगमले पनि प्रतिस्पर्धी क्षमता बढाउनु पर्ने बताए । उनले निगमका तर्फबाट प्रस्तुत गरिने निगमको हितसँग सम्वन्धित विषयमा मन्त्रालय जहिले पनि सहयोगी बन्ने र  बाधा व्यवधान आए समाधान गर्न सक्रिय रहने विश्वास दिलाए ।

नेपाल वायुसेवा निगममा सरकारको लगानी भएकोले यसको हेर विचार पनि सरकारले नै गरिरहेको छ तापनि भविष्यमा मोडेल परिवर्तन गर्नु उपलब्धि पूर्ण ठानिएमा त्यसतर्फ सोच्न सकिने उनको भनाइ थियो । मोडेल परिवर्तनको सन्दर्भमा रणनीतिक साझेदारीमा जाने वा ऐन परिवर्तन गरेर कम्पनीमा रुपान्तरण गर्ने बारे सोच्न समेत निगम व्यवस्थापनलाई सुझाव दिए ।

उनले निगममा पनि प्रशासनिक सुधार आवश्यक रहेको र सुधारको विश्वस्तताको आधारमा लगानीकर्ताले लगानी गर्ने भएकाले त्यसतर्फ ध्यान पु¥याउन आग्रह गरे ।

निगमका निमित्त महाप्रवन्धक गणेशबहादुर चन्दले अनुभवी र योग्य सचिव निगमले अध्यक्ष पाएकाले संस्थाको प्रगति सुनिश्चित रहेको उल्लेख गर्दै उनको कार्यकालको सफलताको कामना गरे । उक्त अवसरमा विभिन्न विभागका निर्देशकहरुले आ–आफ्नो क्रियाकलाप र प्रगतिबारे जानकारी गराएका थिए ।


क्लिकमान्डु