पुराना र बलिया भनेका बैंक नै कमजोर, यी हुन् नाफा घट्ने ८ बैंक



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात ६ महिनामा २७ वटा वाणिज्य बैंकको नाफा ७.१३ प्रतिशतले बढेको छ ।

२७ वटा बैंकमा ८ वटा बैंकको नाफा भने निकै नै घटेको छ । यो अवधिमा निकै नाम चलेका देखि कान्छो पुस्ताको मात्रै नभएर सरकारको बढी स्वामित्व रहेको बैंकको समेत नाफामा गिरावट आएको छ । नाफा घट्ने बैंकमा सिटिजन्स, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, नेपाल एसबीआई, नेपाल इन्भेष्टमेन्ट, सिभिल र नबिल बैंक रहेका छन् ।

यी बैंकमा सबैभन्दा बढी नाफा नेपाल बैंकको १८.६० प्रतिशतले घटेको छ । नेपाल बैंकको नाफा गत आवको दोस्रो त्रैमासमा १ अर्ब ६६ करोड १४ लाख ९८ हजार २०२ रुपैयाँ रहेको थियो । चालु आवको दोस्रो त्रैमासमा आईपुग्दा १ अर्ब ३५ करोड २३ लाख ९६ हजार ८६३ रुपैयाँमा सिमित बनेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवको दोस्रो त्रैमासमा १ अर्ब ९७ करोड ५५ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । तर चालु आवको सोही अवधिमा आइपुग्दा उक्त नाफा १५.६६ प्रतिशतले घटेर १ अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँ रहेको छ ।

नाफा धेरै घट्नेमा सिभिल बैंक रहेको छ । सिभिल बैंकको नाफा १४.७५ प्रतिशतले घटेर ३१ करोड ६२ लाख ४७ हजार रुपैयाँमा सिमित बनेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३७ करोड ९ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।

सिटिजन्स बैंकको पनि नाफा १०.७२ प्रतिशत नाफा घटेर ६८ करोड ७७ लाख १ हजार ४९ रुपैयाँमा सिमित बनेको छ । सिद्धार्थ बैंकको पनि ४.०१ प्रतिशतले घटेर १ अर्ब २ करोड ६५ लाख ४९ हजार ४७८ रुपैयाँमा सिमित बनेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको पनि नाफा ८.३१ प्रतिशतले घटेर २ अर्ब २० करोड ९४ लाख ८२ हजार ३६५ रुपैयाँ रहेको छ । गत आवको दोस्रो त्रैमासमा २ अर्ब २० करोड ९९ लाख ६१ हजार ९९१ रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस्तै नेपाल एसबीआई बैंकको नाफा २.१५ प्रतिशतले घट्दा नबिल बैंकको नाफा ६.२० प्रतिशतले घटेर २ अर्ब ४ करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु