बैंक अफ काठमाण्डूको नाफामा २०% बढ्यो, निक्षेप संकलन ७६ अर्ब ८९ करोड रुपैयाँ



 

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक अफ काठमाण्डको नाफा १९.८३ प्रतिशतले वृद्धि भएको छ । गत आवको पुस मसान्तको तुलनामा बैंकले चालु आवको सोही अवधिमा नाफा १४ करोड ६२ लाख रुपैयाँले बढएर ८८ करोड ३८ लाख रुपैयाँ पुर्याएको हो । गत आवको दोस्रो त्रैमासमा बैंकले ७३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले सञ्चालन नाफा २०.२९ प्रतिशतले वृद्धि गरेको छ । गत आवको पुस मसान्तमा १ अर्ब ४ करोड ८७ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा सञ्चालन नाफा २१ करोेड २८ लाख रुपैयाँले बढाएर १ अर्ब २६ करोड १५ लाख रुपैयाँ पुर्याएको छ ।

गत वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलन तर्फ ७.८३ प्रतिशत र कर्जा लगानी तर्फ ९.१० प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा ८९ अर्ब २० करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी ७६ अर्ब ८९ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८२ अर्ब ७२ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरि ७० अर्ब ४७ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

जसबाट बैंकले ब्याज आम्दानी तर्फ ९.२५ प्रतिशतले वृद्धि गरेको छ । गत आवको ६ महिनामा १ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा बैंकले ब्याज आम्दानी १६ करोड ३६ लाखले बढाएर १ अर्ब ९३ करोड २७ लाख रुपैयाँ पुर्याएको छ । बैंकको वितरण योग्य नाफा भने ५९ करोड ८२ लाख रुपैयाँ रहेको छ । हाल ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ५१ करोड २७ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस्तै, बैंकले समिक्षा अवधिमा खराब कर्जा अनुपात ०.५४ प्रतिशतले घटाएको छ । गत आवकोे पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात २.०८ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा यस्तो अनुपात १.५४ प्रतिशत कायम भएको छ । साथै सो अवधिमा बैंकको कष्ट अफ फण्ड ७.३६ प्रतिशत, वेसरेट ९.९९ प्रतिशत, स्प्रेडरेट ५.०३ प्रतिशत, सीसीडी रेसियो ७६.२३ प्रतिशत, प्रतिसेयर आम्दानी २०.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.१२ गुणा रहेको छ ।


क्लिकमान्डु