खराब कर्जा बढेसँगै नविल बैंकको नाफा ६.२० प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नविल बैंकको नाफा ६.२० प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तमा २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ नाफा गरेकोमा चालु आवको सोही अवधिमा १३ करोड ५० लाख रुपैयाँ नाफा घटेर २ अर्ब ४ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको सञ्चालन नाफा पनि ५.६२ प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तमा ३ अर्ब ८ करोड ३६ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा सञ्चालन नाफा १७ करोड ४३ लाख रुपैयाँले घटाएर २ अर्ब ९० करोड ९३ लाख रुपैयाँमा सीमित गरेको हो ।

गत वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलनमा सामान्य मात्र वृद्धि देखिएको छ । बैंकले चालु आवको पुस मसान्तसम्म निक्षेप संकलन ०.८४ प्रतिशतले र कर्जा लगानी १०.८९ प्रतिशतले वृद्धि गरेको हो । बैंकले चालु आवको ६ महिनामा १ खर्ब ६४ अर्ब ३२ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकले गत वर्षको साही अवधिमा १ खर्ब ६२ अर्ब ९५ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ५० करोड २ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । गत वर्षको तुलनामा समिक्षा अवधिमा बैंकको निक्षेप संकलन घटेसँगै ब्याज आम्दानी पनि घटेको छ । सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.४२ प्रतिशतले घटेको हो ।

गत आवको ६ महिनामा ३ अर्ब ६१ करोड १३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा १५ करोड ९६ लाख रुपैयाँले ब्याज आम्दानी घटेर ३ अर्ब ४५ करोड १६ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ रहेको छ । यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.१३ प्रतिशतले बढेकोे छ ।

गत आवको पुस मसान्तमा ०.६२ प्रतिशत खराब कर्जा रहेकोमा बैंकको चालु आवको सोही अवधिमा यस्तो अनुपात ०.७५ प्रतिशत पुगेको छ । यसैगरी समीक्षा अवधिमा बैंकको कष्ट अफ फण्ड ६.०२ प्रतिशत, वेसरेट ८.१० प्रतिशत, स्प्रेडरेट ४.९९ प्रतिशत, सीसीडी रेसियो ७७.२८ प्रतिशत, प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ३२ र मूल्य आम्दानी अनुपात १६.१० गुणा रहेको छ ।


क्लिकमान्डु