सिभिल बैंकको नाफा १४.७४ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिभिल बैंकको नाफा १४.७४ प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तमा ३७ करोड ९ लाख ९७ हजार रुपैयाँ नाफा गरेकोमा चालु आवको सोही अवधिमा ५ करोड ४७ लाख रुपैयाँ नाफा घटेर ३१ करोड ६२ लाख ४७ हजार रुपैयाँमा सीमित भएको छ ।

बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको सञ्चालन नाफा पनि १४.७२ प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तमा ५२ करोड ३३ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा सञ्चालन नाफा ७ करोड ७० लाख रुपैयाँले घटाएर ४४ करोड ६२ लाख ९६ हजार रुपैयाँमा सीमित गरेको हो ।

गत वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलन १३.६९ प्रतिशतले र कर्जा लगानी तर्फ १२.३३ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा ४७ अर्ब ७४ करोड ६० लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ७६ करोड १७ लाख ११ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकले निक्षेप संकलनको तुलनामा १ करोड ५६ लाख ३० हजार रुपैयाँ बढी कर्जा प्रवाह गरेको छ ।

समिक्षा अवधिमा बैंकको ब्याज आम्दानी भने ८.६३ प्रतिशतले बढेकोे छ । गत आवको ६ महिनामा १ अर्ब ९ करोड ८० लाख २७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ९ करोड ४८ लाख  रुपैयाँले ब्याज आम्दानी बढेर १ अर्ब १९ करोड २८ लाख ८२ हजार रुपैयाँ पुर्याएको छ । बैंकको वितरण योग्य नाफा भने १३ करोड ११ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.८५ प्रतिशतले घटाएको छ । गत आवको पुस मसान्तमा ३.५४ प्रतिशत खराब कर्जा रहेकोमा बैंकले चालु आवको सोही अवधिमा यस्तो अनुपात २.६९ प्रतिशत कायम गरेको छ ।

समिक्षा अवधिमा बैंकको कष्ट अफ फण्ड ८.१९ प्रतिशत, वेसरेट १०.९८ प्रतिशत, स्प्रेडरेट ४.९० प्रतिशत, सीसीडी रेसियो ७७.४६ प्रतिशत, प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९० पैसा, प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २२ पैसा र मूल्य आम्दानी अनुपात १७.७२ गुणा रहेको छ ।


क्लिकमान्डु