बैधानिक माध्यमबाटै ललिता निवासको जग्गा किनेको एनआरएनएको प्रष्टिकरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बालुवाटारस्थित ललिता निवासमा किनेको जग्गाको २०७२ जेठ १४ गते १२ करोड ७२ लाख रुपैयाँ वैधानिक माध्यमबाट बैंकमा भुक्तानी गरेको जनाएको छ ।
संघले विज्ञप्ती जारी गर्दै उक्त रकम तिरेर बालुवटारको ३ रोपनी जग्गा किनेको जनाएको हो ।
संघको भवन रहेको जग्गालगायत ललिता निवास परिसरको जग्गा सरकारी भएको र विभिन्न व्यक्तिले विभिन्न समयमा सरकारी कर्मचारी एवं पदाधिकारीसँग मिलोमतो गरी निजी बनाएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघलाई समेत विपक्षी बनाई मुद्दा दायर गरेपछि एनआरएनएले यस्तो जानकारी गराएको हो ।
एनआरएनएले संसारभरी फैलिएका नेपालीले नेपालमा आफ्नो संस्थाको आफ्नै भवन होस् भनेर दिएको पैसाले जग्गा किनेको र त्यसमा भवन निर्माण गरेको जनाएको छ ।
उक्त जग्गा र भवनसँग लाखौं गैरआवासीय नेपालीहरुको सरोकार, भावना र सम्बन्ध गाँसिएको समेत जनाएको छ । संघले जग्गा खरिद गर्दा खरिद गर्न लागेको जग्गाको विवरण सहित राजस्व मिनाहाका लागि सरकार बुझाएको जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख भए अनुसार भूमी सुधार तथा व्यवस्थाको प्रस्ताव अनुसार २०७२ वैशाख ३१ गतेको मन्त्रिपरिषद्को निर्णयबाट ५० लाख ८८ हजार रुपैयाँ बराबरको राजस्व समेत मिनाहा भएको जनाएको छ ।
विधिवत् रुपमा संघको नाममा जग्गा पास भएपछि सम्बन्धित नियकायबाट अनुमति लिएर भवन निर्माण सकेको जनाएको छ ।
संघको भवन निर्माण हुन थालेपछी ललिता निवास परिसरको जग्गा सरकारी हो भनी संघलाई समेत विपक्षी बनाई दीपकराज जोशीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको उल्लेख छ । मुद्दा दायर गरेपछि संघले आफ्नो सम्पत्तिको रक्षाका लागि मुद्दा लडेको पनि उल्लेख छ ।