निजगढलाई ट्रान्जिट हव बनाउछौं, अन्तरप्रदेशीय उडान गर्ने वायुसेवाले सुविधा पाउँछन्- पर्यटनमन्त्री



काठमाडौ । पर्यटनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय ट्रान्जिट हव बनाउने बताएका छन् ।

शुक्रबार राष्ट्रिय हवाई नीति २०७६ को विषयमा छलफलका क्रममा बोल्दै पर्यटनमन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माण भइसकेपछि यो गन्तव्यसँगै ट्रान्जिट हव बनाउन सकिने बताए ।

‘निजगढलाई ट्रान्जिट हवका रुपमा विकास गर्छौ, यसले मुलुकलाई आर्थिक रुपमा पनि निकै सहयोग पुर्याउनेछ,’ उनले भने ।

मन्त्री भट्टराईले निजगढ विमानस्थल पीपीपी मोडलमा निर्माण हुने बताउँदै लगानीका लागि सरल नीति लिने बताए ।

मन्त्रिपरिषदबाट स्वीकृति पाएर संसदमा प्रस्तुत हुने क्रममा रहेको राष्ट्रिय हवाई नीति २०७६ मा समेत दीर्घकालिन सोच अन्तर्गत सुरक्षित, गुणस्तरीय, दीगो, विश्वसनीय, सर्वसुलभ हवाई यातायातको सेवाको सुनिश्चितता प्रदान गरी नेपाललाई दक्षिण एसियाको नागरिक उड्डयन सेवा सञ्चालनको केन्द्र (हव) बनाउनुका साथै अन्तर्राष्ट्रिष्य उडानको महत्वपूर्ण ट्रान्जिट विन्दुका रुपमा स्थापित गर्ने सोच यस नीतिमा रहेको उल्लेख गरिएको छ ।

यसअघि मन्त्री भट्टराईले निजगढ विमानस्थलको विकल्प नभएकाले कुनै पनि हालतमा निर्माण गरेरै छाड्ने बताइसकेका छन् । उनले निजगढ विमानस्थल अर्जुन दृष्टि भएकाले कुनै पनि हालतमा ५ वर्षभित्र निर्माण सम्पन्न भइसक्ने बताएका थिए ।

उनले गत बुधबार एक कार्यक्रममा बोल्दै निजगढ र भैरहवा विमानस्थल पूर्ण सञ्चालनमा आएपछि नेपालमा वर्षेनी १ करोड पर्यटक ल्याउने समेत बताइसकेका छन् । उनका अनुसार भैहरवास्थित गौतमबुद्ध विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा ल्याउने सरकारले तयारी गरेको छ ।

डिसेम्बरको अन्तिममा काम सम्पन्न गर्ने भनिए पनि काम पूरा नहुँदा भैहरवा विमानस्थल आयोजनाको काम ३ महिना थप गरिएको छ ।

त्यस्तै, वायु सेवा कम्पनीहरु काठमाडौंमा मात्रै कन्द्रित नभइ अन्दरप्रदेशमा पनि उडान गर्नुपर्ने बताए । उनले अन्तरप्रदेश उडान गर्ने वायुसेवा कम्पनीलाई सरकारले सुविधा समेत दिने बताए ।

त्यस्तै, अन्तरप्रदेश स्तरमा काम गर्छु भनेर सर्त सहित आएका कम्पनीलाई सर्त पालना गराउन सरकारले कठोर नीति लिने समेत मन्त्री भट्टराईले बताए ।


क्लिकमान्डु