इन्फ्रास्ट्रक्चर बैंकको सेयर प्रत्याभुतकर्तामा नागरिक लगानी कोष नियुक्त



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र प्रत्याभुतको लागि नागरिक लगानी कोषलाई प्रत्याभुतिकर्तामा नियुक्त गरेको छ ।

प्रत्याभुति सम्बन्धी सम्झौता पत्रमा नागरिक लगानी कोषकाट कार्यकारी निर्देशक रमण नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् । बैंकले प्रति कित्ता एक सय रुपैयाँका दरले ८ अर्ब रुपैयाँको ८ करोड कित्ता सेयर सर्वसाधारणहरुका लागि निष्काशन गर्ने तयारीमा रहेको छ ।

सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै ठूलो सार्वजनिक निष्काशन हुनेछ । बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रुपैयाँ  छ । सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ हुनेछ ।

जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने उद्देश्यले स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।


क्लिकमान्डु