आन्तरिक हवाई उडानमा कोराना भाइरसको असर, काठमाडौं-पोखराको हवाई भाडा घट्यो



काठमाडौं । दुई साताभन्दा बढी समयदेखि चीनमा फैलिएको ‘नोबेल कोरोना भाइरस’को संक्रमण बढेसँगै नेपाल भित्रने चिनियाँ पर्यटनको संख्या घटेको छ ।

भिजिट नेपाल २०२० को पहिलो महिनामै चिनियाँ पर्यटकको संख्या १२.१९ प्रतिशतले घटेको छ । सन् २०१९ को जनवरी महिनामा १३ हजार ६८८ चिनियाँ पर्यटन नेपाल आएकोमा यो वर्ष उक्त संख्या जम्मा १२ हजार २०० मा सीमित भएको छ । यसरी हेर्दा गत वर्षको जनवरीको तुलनामा १ हजार ४ सय जना चिनियाँ पर्यटक नेपाल कम आएका हुन् । जसको असर हवाई यात्रुमा पनि देखिएको हो ।

एकातिर चिनियाँ पर्यटकको संख्यामा कमी आयो भने अर्कोतर्फ काठमाडौं–पोखरा रुटमा श्री एयरलाइन्सले उडान शुरु गर्ने भएपछि अन्य कम्पनीको भाडादर पनि घटेको हो ।

श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरका अनुसार श्री एयरलाइन्सले माघ २४ गतेदेखि काठमाडौं–पोखरा–काठमाडौं उडान शुरु गर्दैछ । शुरुवाती दिनमा प्रवद्र्धनात्मक शुल्क अन्तर्गत सस्तो टिकट बिक्री गरेको हो ।

‘शुरुवाती एक सातासम्म सस्तो भाडा दर तोकेका छौं, एक सातापछि फेयरमा हेरफेर हुन्छ,’ मानन्धरले क्लिकमाण्डूसँग भने ।

श्री एयरलाइन्सले उडान अनुमति पाएसँगै काठमाडौं–पोखरा उडान गर्ने अन्य कम्पनीले पनि भाडा दर घटाएका छन् । न्यूनतम ३ हजार रुपैयाँ तोकिएको काठमाडौं–पोखराको हवाई भाडा अहिले २ हजार रुपैयाँसम्म विमान कम्पनीले उपलब्ध गराउँदै आएका छन् ।

यस रुटमा उडान गर्दै आएका बुध्द एयर र यति एयरलाइन्सले पनि हवाई भाडादरमा कटौती गर्दै २ हजार रुपैयाँमै उडान गर्दै आएका छन् । नागरिक उड्डयन प्राधिकरणले काठमाडौं–पोखरा उडानका लागि न्यूनतम शुल्क ३ हजार रुपैयाँ तोकेको छ ।

यद्यपि आन्तरिक हवाई भाडा नियमन निर्देशिका, २०७३ मा निर्देशिका बमोजिम हवाई भाडा वर्गिकरण गर्दा वायुसेवा कमपनीले निर्धारण गर्ने सबैभन्दा सस्तो वर्गको हवाई भाडा दर नेपाल सरकारबाट निर्धारित हवाई भाडाको न्यूनतम सीमाको ५० प्रतिशतभन्दा कम हुन नहुने उल्लेख गरेको छ ।

तर दशैं तिहार जस्ता ठूला चाडपर्वमा विशेष परिस्थितीमा एकतर्फी यात्रु मात्रै पाइने अवस्थामा वायुसेवा कम्पनीले विशेष छुटमा हवाई भाडा निर्धारण गर्न सक्ने उल्लेख छ ।


क्लिकमान्डु