विकास समितिको निर्देशनः निर्माणाधीन पुल यकिन गरी स्रोत जुटाउनुहोस्



काठमाडौं । विकास तथा प्रविधि समितिको बैठकले निर्माणको प्रक्रियामा रहेका तथा निर्माणाधीन अवस्था रहेका पुलको यकिन गरी अर्थ मन्त्रालयलाई स्रोत जुटाउन समन्वय गर्न आग्रह गरेको छ ।

सोमबार विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले अर्थमन्त्रालयले महिनौसम्म फाइला रोकेर राख्दा पुल निर्माणमा समस्या आएको भनेपछि समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिँदै अर्थसँग स्रोत सुनिश्चितता गराउन आग्रह गरेको हो ।

समितिले मन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ‘ निर्माणको प्रकृयामा रहेका र निर्माणधीन रहि बजेटको अभावमा अलपत्र अवस्थामा रहेका पुलहरुको अवस्था यकिन गरी अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी स्रोत जुटाइ सम्पन्न गर्न प्राथमिकता दिएर मात्र अन्य पुल निर्माणको प्रक्रिया शुरु गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देश गर्दछ ।’

यस्तै समितिले दिएको ४ वटा निर्देशनमा निर्माणाधीन अवस्थामा रहेका कतिपय पुलहरु डिजाइन मै समस्याग्रस्त देखिएकोले आगामी दिनमा निर्माण गरिने पुलहरु ‘डिजाइन एण्ड लिल्ड’ प्रविधिबाट अगाडि बढाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै रणनीतिक सडक अन्तर्गत रहेका पुराना पुलहरु चालु अवस्थामा रहेकै अवस्थामा क्रमशः त्यसलाई विस्थापित गर्दै पुल निर्माणको प्रकृया सुरु गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले डिजाइनमा समस्या भएका निर्माण व्यवसायीका कारण अलपत्र परेका र कावु बाहिरको अवस्थामा पुगेका पुलहरुको विवरण र समस्या समाधानका आगामी कार्ययोजना समेत १५ दिनभित्र समितिमा पेश गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।


क्लिकमान्डु