व्यापारीक सम्बन्ध रहेका १४२ देशमध्ये ११३ देशसँग व्यापारघाटा, २९ देशबाट न्यून लाभ



काठमाडौं । नेपालले वैदेशिक व्यापार गर्ने १४२ देशमध्ये ११३ वटा मुलुकसँग व्यापारघाटा खेपिरहेको छ । व्यापारिक सम्बन्ध भएको मुलुकमध्ये नेपालले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २९ वटा मुलुकबाट मात्रा केही प्रतिशत नाफा कमाएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले व्यापार गर्ने विश्वका १४२ मुलुकमध्ये सबैभन्दा बढी व्यापार घाटा भारतसँग र सबैभन्दा बढी फाइदा डेनमार्कसँगको व्यापारमा छ ।

नेपालले चालु आवको ६ महिनामा डेनमार्कबाट १९ करोड ९० लाख २७ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गर्दा १२ करोड १६ लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरी ७ करोड ७३ लाख २८ हजार रुपैयाँ नाफा कमाएको हो ।

यस्तै, नेपालबाट भारतमा चालु आवको ६ महिनामा ४० अर्ब १४ करोड ३८ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ । त्यस्तै ४ खर्ब २३ अर्ब ८३ करोड ३५ लाख ८४ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान भारतबाट आयात हुँदा ३ खर्ब ८३ अर्ब ६९ करोड १५ लाख २० हजार रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।

नेपालबाट सबैभन्दा बढी सामान निर्यात हुने र सबैभन्दा बढी सामान आयात गरिने देश भारत नै हो । सोही कारण अन्य मुलुकसँग भन्दा भारतसँग नेपालको सबैभन्दा बढी व्यापार घाटा रहेको भएको हो ।

साथै चीनसँग पनि नेपालले १ खर्ब १७ अर्ब २३ करोड ६२ लाख १६ हजार रुपैयाँको व्यापार घाटा खेपेको छ । चालु आवको ६ महिनामा १ खर्ब १८ अर्ब २५ करोड २७ लाख रुपैयाँको वस्तु तथा सामान आयात हुँदा १ अर्ब १ करोड ६५ लाख ६१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात हुँदा चीनसँग नेपालको १ खर्ब १७ करोड रुपैयाँ भन्दा बढीको व्यापार घाटा भएको हो ।

नेपालले वैदेशिक व्यापारबाट लाभ लिएको मुलुकमध्येमा करोडभन्दा बढी कुनैपनि मुलुबाट लाभ लिन सकेको छैन् । वैदेशिक व्यापारबाट १ करोड रुपैयाँभन्दा बढी लाभ लिन सकेको मुलुकमा डेनमार्क, नर्वे, नाइजेरिया, मालदिप्स र क्यामरुन छ । बाँकी २४ वटा देशको वैदेशिक व्यापारबाट भने नेपालले करोडभन्दा मात्र लाभ लिन सकेको हो ।

नेपालले भारत, चीनपछि इन्डानेसियासँग २० अर्ब ११ करोड रुपैयाँ र संयुक्त अरब एमिरेट्ससँग १० अर्ब २३ करोड रुपैयाँ, संयुक्त राज्य अमेरिकासँग ४ अर्ब ६० करोड रुपैयाँ, क्यानाडासँग ६ अर्ब ५८ करोड रुपैयाँ, स्विजरल्याण्ड, थाइल्याण्ड, अर्जेन्टिना र साउदी अरबसँग ५ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा छ ।


क्लिकमान्डु