वीरगञ्ज भन्सारबाट सबैभन्दा धेरै निर्यात, ५ भन्सारबाट निर्यात शुन्य



काठमाडौं । नेपालबाट निर्यात गरिने सामानको परिमाण पछिल्ला केही महिनायता वृद्धि भइरहेको सरकारी तथ्यांकले देखाउँदै आएको छ ।

तर केही भन्सार नाकाहरुबाट भने विगत केही महिनायता निर्यात शुन्य भएको पाइएको छ ।

मुलुकभर सञ्चालित २४ वटा भन्सार नाकामध्ये ५ वटा भन्सार नाकाबाट चालु आवको पहिलो ६ महिनामा निर्यात शुन्य भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

जसमा भद्रपुर, जलेश्वर, जनकपुर, महेशपुर र सर्लाही भन्सार नाका हुन् ।

भन्सार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको वस्तु तथा समान आयात निर्यातको तथ्यांक अनुसार यी ५ वटा भन्सार नाकाहरुबाट ६ महिनामा केही पनि नेपाली वस्तु तथा सामान निर्यात हुन नसकेको हो ।

सरकारले लक्ष्य अनुसारको राजश्व संकलनका लागि भन्सार नाकाहरुको स्तरोन्नती गरी जनशक्ति एवम् साधान र स्रोत उपलब्ध गराएको छ ।

आन्तरिक उत्पादन नबढ्न नसक्दा र उत्पादित वस्तु तथा सामानको अन्तर्राष्ट्रिय माग नहुँदा ती भन्सार नाकाहरुबाट निर्यात हुन नसकेको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा सञ्चालनमा रहेको २४ वटा भन्सार नाकाबाट ६ खर्ब ९४ अर्ब ६९ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ भने १९ वटा भन्सार नाकाबाट ५७ अर्ब २७ करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ ।

विभागका अनुसार वीरगञ्ज भन्सार नाकाबाट निर्यात मात्रा बढी छ । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको पुस मसान्तसम्म १८ अर्ब २४ करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु तथा समान निर्यात भएको हो ।

यस्तै दोस्रो स्थानमा बिराटनगर भन्सार नाका रहेकोे छ । उक्त भन्सार नाकाबाट काक्तिक मसान्तसम्म १६ अर्ब २४ करोड ८२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ भने तेस्रोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार रहेको छ । उक्त भन्सारबाट सो अवधिमा १२ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ बराबरको सामान आयात भएको हो ।


क्लिकमान्डु