कर्मचारीलाई पर्यटनमन्त्रीको निर्देशन- निगमका लागि काम गर्नुहोस्, व्यापारीको स्वार्थमा होइन



काठमाडौं । बुधबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटिको बैठकपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यालय हान्निए ।

बैठकस्थल सभागृहबाट काठमाडौंको सुन्धरास्थित निगमको कार्यालय पुगेका मन्त्री भट्टराईले निगमका उच्चअधिकारीलाई भने, ‘आज म तपाईको कुरा सुन्छु ।’

अपरान्ह्र ४ बजेदेखि शुरु भएको छलफलमा निगमका अध्यक्ष समेत रहेका पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, निगमका सबै विभागका विभागीय प्रमुख तथा कर्मचारीका प्रतिनिधिहरु उपस्थित थिए ।

छलफलमा निगमका विभागीय प्रमुखहरुले सम्बन्धित विभागका अवस्था, समस्या र सम्भावना बारेमा रिपोटिङ्ग प्रस्तुत गरेका थिए ।

विभागीय प्रमुखहरुले रिपोर्टिङ्ग प्रस्तुत गरिरहँदा मन्त्री भट्टराईले बीच–बीचमा प्रश्न सोधेर गहिरो गरी अवस्था बारेमा जानकारी लिए । मन्त्री भट्टराईले सबै विभागीय प्रमुखहरुलाई ‘क्रस कोइसन’ गर्दै अवस्था बारेमा बुझेका थिए ।

विभागीय प्रमुखहरुको रिपोर्टिङ सुनिसकेपछि निगमको व्यवस्थापनलाई प्रभावकारी बनाउन र निगमभित्रको आर्थिक मितव्ययीतालाई चुस्त बनाउने योजनादेखि निगमको भविष्यको मार्गचित्रसहितको खाका प्रस्तुत गर्न पर्यटनमन्त्रीले निगमका विभागीय प्रमुखलाई कडा निर्देशन दिए ।

‘सुधारका निम्ती प्रत्येक विभागले कार्ययोजना बनाउनुहोस्’
पर्यटनमन्त्री भट्टराईले इतिहासलाई मात्र गर्व गरेर बस्ने छुट नरहेको भन्दै राष्ट्रिय गौरवसँग जोडिएको विषय भएकाले निगमलाई जसरी पनि माथि उठाउनै पर्ने बाध्यता बताए ।

‘निगमको गौरवमय इतिहास छ, तर पूर्खाले घिउ खाएका थिए, हात चाटेर बसौं भनेर पनि अब हुन्न । गौरवमय इतिहास बोकेको निगम आजसम्म जे–जस्तो गरी आइपुग्यो यसको विद्यमान संरचनालाई अब नयाँ ढंगले अघि बढाउनैपर्छ, त्यसका लागि कर्मचारी तयार हुनुहोस् निगम यतिखेर ऐतिहासिक र निर्णयक अवस्थामा आइपुगेको छ,’ उनले भने ।

मन्त्री भट्टराईले सुधारको निम्ती प्रत्येक विभागीय प्रमुखहरुलाई नयाँ योजना तयार पार्न निर्देशन दिए । कुनै पनि संस्थालाई माथि उकास्न केही न केही सम्झौता वा त्याग गर्ने पर्ने भन्दै मन्त्री भट्टराईले निगमका अहिलेका कर्मचारीहरुमा त्याग र इमान जरुरी रहेको बताए ।

‘यतिका युवा साथीहरु विभागीय प्रमुख हुनुहुन्छ, इमानका साथ काम गरेर नयाँ इतिहास निर्माणका लागि तयार हुनुहोस्,’ उनले भने ।

भारतको एयर इन्डियाको विघटनको उदाहरण दिँदै पर्यटनमन्त्रीले समस्या समाधान गर्न बेलैमा सुझबुझपूर्ण तयारीका साथ अघि बढ्नुमै निगमको भविष्य उज्वल हुने बताए ।

मन्त्री भट्टराईले निगमका प्रत्येक विभागले हालको समस्या र आगामी कार्ययोजनाको विस्तृत प्रतिवेदन तयार गरी मन्त्रालयसमक्ष पेश गर्न पनि निर्देशन दिए । निगमभित्रको अनावश्यक खर्च कटौती गर्दै विदेशस्थित निगमका कार्यालयमा बढ्दो खर्च घटाएर आर्थिक मितव्ययिता अपनाउन पनि मन्त्रीले निर्देशन दिए ।

‘हङकङमा के भएको हो ?’
मन्त्री भट्टराईले हङकङबाट आएका यात्रुहरुले लगेज नपाएको भिडियो भाइरल भएको भन्दै कसको कमजोरीबाट भएको हो ? तत्काल छानविन गर्न निर्देशन दिए ।

साताभन्दा बढी समय बिते पनि नेपाल एयरलाइन्सले ‘लगेज’ नदिँदा अत्यावश्यक सामग्री प्रयोग गर्न नपाएको भन्दै यात्रुहरुले निगमका कर्मचारीप्रति आक्रोश पोखेका थिए ।

उनले यदि कमजोरी निगमका कर्मचारीहरुबाट भएको भए तत्काल कारबाही गर्न पनि निर्देशन दिए ।

मन्त्री भट्टराईले तत्काल छानबिन गरेर निगमका कर्मचारीबाट कमजोरी भएको देखिए तत्काल हङकङबाट फिर्ता गर्न निर्देशन दिए ।

कर्मचारीले सेवा प्रवाहमा कुनै लापरवाही गरेको पाइएमा कडा कारवाही गर्ने बताउँदै मन्त्री भट्टराईले निगमको उडानसँग जोडिएका सबै विषयलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिए ।

‘व्यापारीको स्वार्थमा होइन निगमको पक्षमा काम गर्नुहोस्’
मन्त्री भट्टराईले निगमका उच्च अधिकारीहरुको काम आफूले नजिकबाट नियालिरहेको बताए ।

‘व्यापारीसँग समय बिताउने, लन्च गर्ने डिनर गर्ने र अफिसको कामलाई बेवास्ता गरिरहेको पाइएको छ । अब छोडिदिनुहोस्, व्यापारिक समूहसँगको हिचमिच र लन्च डिनर अनि कुन दिन के विषयमा को व्यापारीसँग कस्तो विषयमा कुराकानी भयो संस्थालाई जानकारी गराउनुस यो संस्थागत अभिलेखका लागि पनि आवश्यक छ,’ उनले भने ।

उनले व्यापारीको स्वार्थमा होइन निगमको हितमा काम गर्न कडा निर्देशन समेत दिए ।

मन्त्री भट्टराईले निगमको सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गर्दै र्याम्प बस खरिदमा किन ढिलाइ भइरहेको हो भनी प्रश्न गरे ।

विगतमा अस्थिर सरकार भएकाले निगमको अवस्था पनि अस्थिर भएको प्रसंग उल्लेख गर्दै मन्त्री भट्टराईले अहिलेको सरकार स्थिर मात्र हैन बलियो र शक्तिशाली भएकाले निगमको अवस्थालाई सुधार गर्न जस्तोसुकै कदम चाल्नसक्ने र त्यस परिस्थतिलाई सामना गर्न कर्मचारी तयार हुनुपर्ने बताए ।

‘निगमको सम्पतिको सही सदुपयोग गरौं’
मन्त्री भट्टराईले निगमको स्वमित्वमा रहेका जग्गाहरुको सही सदुपयोग गर्नुपर्ने बताए । निगमका देशका बिभिन्न १६ स्थानमा रहेका जग्गाहरु उचित मुल्य सहित भाडामा अथवा व्यापारिक प्रयोजनमा ल्याउन पर्ने बताए ।

पछिल्लो समयमा पोखरामा रहेको जग्गाको भाडा नउठिरहेको सन्दर्भमा तत्काल प्रशासन र प्रहरीको सहयोगमा भएपनि आवश्यक कदम चाल्न निर्देशन दिए ।


क्लिकमान्डु