टोखामा ५ वटा उद्यान बन्दै, २ को निर्माण शुरू भयो



काठमाडौं । काठमाडौंको उत्तरी क्षेत्र टोखामा ५ वटा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिकाले चालु आवमा २ पार्क निर्माण गर्न शिलान्यास गरेर काम थाले पनि आगामी वर्षसम्म ५ वटा पार्क निर्माण गर्न लागेको हो ।

टोखा नगरपालिकाले नगरपालिकाभित्रको बढ्दो जनसङ्ख्यालाई लक्षित गरेर आरामका लागि पार्क बनाउन लागेको हो । काठमाडौं महानगरपालिकाले काठमाडौंभित्र रहेका १० वटै नगरपालिकालाई पार्क निर्माणका लागि १र१ करोड रूपैयाँ वितरण गरेपछि टोखा नगरपालिकाले पनि पार्क निर्माण कार्यलाई प्राथमिता दिएको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखा नगरपालिका-१ बौडेश्वरमा ३ करोड ३२ लाख रूपैयाँ लगानीमा ‘चिल्ड्रेन पार्क’ निर्माण गर्न लागेको बताए ।

‘बालबालिकालाई खेल्नदेखि आराम गर्नमिल्ने गरी निर्माण गर्न लागिएको पार्क २०७७ असार मसान्तमा सक्ने लक्ष्य राखेका छौं,’ उनले भने ।

यस्तै टोखा नगरपालिका-५ मा १ करोड ५६ लाख रूपैयाँ लगानीमा कल्की मन्दिर पार्क निर्माण गर्न लागेको छ । उक्त पार्क निर्माणको शिलान्यास कार्य सम्पन्न भइसकेको नगरपालिका प्रमुख अधिकारीले बताए । उक्त पार्क पनि २०७७ असार मसान्तसम्म सम्पन्न भइसक्छ ।

टोखा नगरपालिकाले ३ वटा पार्क निर्माणका लागि भने डिपिआर गरेर बोलपत्र आह्वान गर्ने क्रममा छ । टोखा–३ झुडोलमा निर्माण हुने झुडोल पार्क, टोखा–८ मा बन्न लागेको जालपा पार्क र टोखा–१० मा निर्माण हुन लागेको महिन्द्रेश्वर पार्कका लागि बोलपत्र आह्वान गर्ने काम हुँदैछ ।

नगरपालिकाले झुडोल पार्क निर्माणका लागि १० लाख रूपैयाँ, जालपा पार्क निर्माणका लागि ५० लाख रूपैयाँ र महिन्द्रेश्वर पार्क निर्माणका लागि १५ लाख रूपैयाँ वजेट विनियोजन गरिसकेको छ ।


क्लिकमान्डु