एमसीसी संसदले छिट्टै अनुमोदन गर्नुपर्छ- प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्स कर्पोरेसन ‘एमसीसी’ पारित गर्नुपर्ने बताएका छन् । मंगलबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्नुपर्नेमा जोड दिए ।
नवनियुक्त सभामुख अग्नीप्रसाद सापकोटालाई बधाइ ज्ञापन गर्दै एमसीसी पारित गर्नुपर्ने बताए ।
‘थुप्रै विधेयक पारित गरेर ऐन निर्माण गर्नुपर्ने छ, धेरै अगाडिदेखि पढ्दै आएको विभिन्न चरणमा पार गर्दै आएको र अहिले संसद समक्ष अनुमोदनका लागि पर्खाइमा रहेको एमसीसी जस्ता विषयहरु पारित गर्नुपर्ने छ,’ उनले भने ।
विकास निर्माणमा अगाडि बढ्नु पर्ने भएकाले साना तिना कुरामा अल्झिन नहुने बताए ।
‘हामी सबै सहमतिमै अगाडि बढ्ने हो, राजतन्त्र फ्याँक्न पनि सहमतिमै सम्भव भएको थियो, त्यसैले सबै मिलेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।
केही दिनमै सरकारको दृष्टिकोणबारे विचार राख्ने बताउँदै ओलीले सभामुख चयनको सम्बन्ध र अन्य काममा विलम्ब भएको बताउँदै अब समय कम भएकाले तीव्र गतिमा काम अगाडि बढाउनु पर्ने बताए ।