हिमालय एयरलाइन्सद्वारा चीनका ३ गन्तव्यमा उडान स्थगित



काठमाडौं । हिमालय एयरलाइन्सले चीनमा उडान गर्ने ५ गन्तव्यमध्ये ३ वटा गन्तव्यमा उडान स्थगित गरेको छ ।

कम्पनीका अनुसार कोरोना भाइरसको संक्रमण बढेसँगै सुरक्षाका दृष्टिले गुयान, च्याङसा र सेनजेनमा हुँदै आएको उडान फेब्रुअरीदेखि स्थगित गरेको हो ।

त्यस्तै, गत साता मात्रै उडान शुरु गरेको चिनछोङमा सातामा ३ दिनमध्ये एउटा उडान कम गरी २ वटा मात्रै उडान गर्ने निर्णय गरेको छ ।

कम्पनीका अनुसार सोमबारको उडान स्थगित गर्दै बिहीबार र शनिबारको मात्रै उडान गर्ने निर्णय गरिएको छ ।

साथै बेइजिङमा सातामा ३ उडान गर्दै आएकोमा एउटा मात्रै उडान गर्ने निर्णय गरेको छ । हाल बेइजिङमा मंगलबार र शनिबारको उडानलाई स्थगित गर्दै शुक्रबारको मात्रै उडान गर्ने निर्णय गरिएको कम्पनीले जानकारी दिएको छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा चिनियाँ पर्यटक नेपाल आउने राम्रो सिजन भएको अवस्थामा पनि कोरोना भाइरसले गर्दा उडान स्थगित गर्दा कम्पनीलाई ठूलो क्षति भएको कम्पनीका एक अधिकारीले बताए ।

‘चीनबाट नेपाल पर्यटक आउने यो समय महत्वपूर्ण हो, यही समयमा स्थगित गर्दा कम्पनीलाई ठूलो नोक्सानी भएको छ,’ ती अधिकारीले भने ।

कोरोना भाइरसको संक्रमण बढेसँगै कम्पनीले चीन जाने र चीनबाट आउने यात्रुहरुको हकमा उच्च सतर्कता अपनाउँदै आएको छ । यात्रुहरुको तापक्रम जाँच्ने र सुरक्षाका विभिन्न उपाय अपनाइएको कम्पनीको भनाइ छ ।

कम्पनीले केही दिनमै हिमालयन एयरलाइन्सको उडान हुने सबै गन्तव्यका लागि पनि सुरक्षामा ध्यान दिइनेछ ।


क्लिकमान्डु