माथिल्लो तामाकोशीः ठेकेदारका कारण समय घर्किंदै, लागत बढेर ७० अर्ब



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना । नेपाली लगानी निर्माण भइरहेको देशकै ठूलो र राष्ट्रिय गौरवको आयोजना । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थान र नेपाल टेलिकम यसका संस्थागत लगानीकर्ता । नेपाल विद्युत् प्राधिकरण आयोजनाको प्रमुख लगानीकर्ता ।

निर्माण गर्ने कम्पनी प्राधिकरणको स्वामित्वको सहायक कम्पनी । कूल ४५६ मेगावाट विद्युत उत्पादन क्षमता । बढी विद्युत् माग हुने पिक आवरमा करिब ४ घण्टा पूर्णक्षमतामा चलाउन सक्ने गरी गरिएको डिजाइन ।

सर्वसाधारणलाई सेयर समेत बिक्री गरिसकेको कम्पनी । कर्मचारी सञ्चय कोषका रकम जम्मा गर्ने कर्मचारीले समेत सेयर खरीद गरिसकेका छन् ।

सरकारी निकायका उच्च अधिकारी भन्छन्- आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा थप हुँदा कूल ग्राहस्थ उत्पादनमा थप १ प्रतिशतको योगदान हुन्छ । तर काम भने अपेक्षित गतिमा अगाडि बढ्न सकेको छैन । आगामी चैतमा सम्पन्न गर्ने कार्यसूची थियो ।’

तर सो कार्यसूचीमा आयोजना सम्पन्न हुने कुनै छेकछन्द छैन । कारण भारतीय निर्माण व्यवसायी टेक्सम्याकोका कारण आयोजनाको समय मात्रै बढेको छैन, लागत समेत बढीरहेको छ ।

स्वदेशी लगानीमा आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने विवादको बीचबाट शुरु भएको आयोजनाको कूल भौतिक प्रगति ९९ .३ प्रतिशत पुगेको छ । आयोजनाका अधिकारी भन्छन्- अब मात्रै ०.७ प्रतिशत काम मात्रै बाँकी छ ।

नेपाली समाजमा एउटा लोकोत्ति प्रचलित छ, त्यो हो हात्ति छिर्यो पुच्छर अड्कियो यस्तै भएको छ, माथिल्लो तामाकोशीमा । आयोजनाको काम गरिरहेको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको काममा जिम्मेवार देखिएको छैन ।

सो कम्पनीको प्रधान कार्यालय कोलकात्ता पुगेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कामको गति दिन आग्रह गरेका थिए । उनले काममा ढिलाई भए त्यसको जिम्मेवार निर्माण व्यवसायी हुने भन्दै कामको गति बढाउन तथा कामदार थप गर्न समेत टेक्सम्याकोलाई आग्रह गरेका थिए ।

भनुञ्जेल केही दिन राम्रो काम गर्ने, नभए, कुनै वास्ता नगर्ने, सरकारी काम कहिले जाला घाम भन्ने तरिकाले टेक्सम्याकोले काम गरिरहेको आयोजनाका अधिकारी बताउँछन् । उनीहरु ठेकेदार बिच्क्याउने पक्षमा छैनन् । कारण, मेलम्चीमा ठेकेदार बिच्किँदा आयोजना नै समस्यामा पर्यो ।

मुख मुखमा आएको आयोजनामा कुनै समस्या नहोस् भन्नेमा आयोजनाका कर्मचारी सकेसम्म फकाएरै भएपनि काम लगाउने पक्षमा छन् । तर, निर्माण व्यवसायीको काम हेर्दा आगामी असारभित्र आयोजना सकिएला त भन्ने प्श्न खडा भएको छ ।

आयोजनाको सुरुङ परिक्षणको काम भइसकेको छ । बाँध स्थल निर्माण सकिएको छ । प्रसारण लाइनको काम पनि सकिने चरणमा छ । एकाध टावरमा तार कस्न तथा सवस्टेशनमा केही काम मात्रै बाँकी छ । सवस्टेशनमा ठूला क्षमताका ट्रान्सफर्मर जडान भइरहेको छ । ती कार्य केही समयभित्रे सकिनेमा आयोजना ढुक्क छ । तर प्रमुख काम भनेकै ठाडो सुरुङमा पाइप जडान गर्ने हो । सोही काममा ठेकेदारले चित्त बुझ्दो काम गरेको छैन ।

अघिल्लो चैतमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आयोजनासँग जोडिएको प्राधिकरण, आयोजना प्रमुख तथा निर्माण व्यवसायी, अष्ट्रेलियन ठेकेदार कम्पनी एन्ड्रिज तथा भारतीय टेक्सम्याकोलाई राखेर समस्या समाधानका लागि एकमुष्ठ निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार टेक्सम्याकोले गर्ने ठाडो सुरुङको काममा समेत बाँडफाँड गरियो । दुई वटा ठाडो सुरुङ निर्माण गर्ने जिम्मा लिएको टेक्सम्याकोलाई एउटा मात्रै सायमा सक्ने गरी कार्यतालिका बनाइयो ।

कारण, आयोजनामा गति बढोस र तोकिएको समयमा नै पूरा होस् भन्ने अपेक्षा थियो, सरकारको । तर अष्ट्रलियन ठेकेदार कम्पनी इन्ड्रिजले धमाधम काम गरिरहेको छ । उसको काम गर्ने गति र शैली पनि राम्रै छ । तर टेक्सम्याको भने काम्को गति बढाउनै तयार छैन । काम भइरहेको छ, हुँदैछ, समयमै सकिन्छ, यस्ता यस्तै भनाइ राखेर उसले आयोजना ढिलाई गरिरहेको छ, आयोजनाका एक उच्च अधिकारी बताउँछन् ।

कार्यकारी निर्देशक घिसिङको निर्देशनपछि केही दिन कामको गति बढाएको टेक्सम्याको अझै सोही लय पछ्याउन तयार छैन । केही स्पिड अप त गरेको छ, तर अपेक्षित भने देखिँदैन । कारण जे जस्ता भएपनि आयोजना ्जति सक्दो चाँडो सकियोस् भन्ने सरकारको अपेक्षा छ ।

सरकारलाई समयमै काम सकिएको जश लिनु त छँदै छ, भारतबाट वार्षिक रुपमा आयात भइरहेको २३ अर्ब बराबरबो विद्युत्मा केही सहुलियत होस् भन्ने पनि चाहेको छ । अर्थतन्त्रसँग पनि प्रत्यक्ष जोडिएको हुनाले आयोजनाको गति बढोस भन्ने खोजिनु जायज नै छ । तर, ठेकेदार चल्दै चल्दैन, आयोजनाका लागि सबैभन्दा ठूलो टाउको दुखाई बनेको छ ।

आयोजनाको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङ मध्ये तल्लो टाडो सुरुङमा पाइप जडान गर्ने कार्य गत असार १ गतेदेखि शुरु गरिएको हो । माथिल्लोको काम गत असार १० गतेदेखि भएको हो । तल्लो सुरुङको कूल लम्बाई ३७३ मिटर रहेको छ । माथिल्ला ठाडो सुरुङको लम्बाई ३१० मिटर रहेको छ । तीमध्ये हालसम्म कूल ३०० मिटरमा मात्रै पाइप जडानको काम भइसकेको छ । तल्लो ठाडो सुरुङमा २०० मिटर पाइप जडान भएको छ ।

सो सुरुङमा अब १७३ मिटर पाइप जडान गर्नुपर्ने आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने बताउँछन् । सो सुरुङमा पाइप जडानको कार्य अष्ट्रेलियन कम्पनी एन्ड्रिजले गरेको छ । सो काम अगामी चैतसम्म सकिने अपेक्षा गर्न सकिन्छ । माथिल्लो ठाडो सुरुङमा मात्रै १०० मिटर पाइप जडान भएको छ । त्यसमा अझै २१० मिटर पाइप जडान गर्नुपर्नेछ ।

कार्यतालिका अनुसार आगामी चैतमा दुई वटै सुरुङमा पाइप जडान सक्नुपर्ने कार्यतालिका छ । तर सो समयमा दुबै सुरुङमा काम सकिने अवस्था छैन । एउटा सकिएपनि अर्कोको काम सक्न अझै केही समय लाग्न सक्छ । सुरुमा व्याज बाहेक आयोजनाको लागत ३५ अर्ब रुपैयाँ थियो ।

हालसम्म आयोजनामा ४८ अर्ब रुपैयाँ लागिसकेको छ । त्यसमा व्याज जोडिएको छैन । व्याज समेत जोडिँदा आयोजनाको लागत बढेर ७० अर्ब पुग्ने देखिएको छ । शुरुको लागतमा व्याज तथा अन्य लागत बढ्दा झण्डै दोब्बर भएको हो । समय थप हुँदै जाँदा लागत अझै बढ्न सक्ने देन्छि ।

माथिल्लो तामाकोशी समयमै सकिएको भए अन्य आयोजनामा समेत त्यसको प्रत्यक्ष प्रभाव पर्ने थियो । तर लागत र समय बढ्दै जाँदा अन्य आयोजनामा समेत समस्या परेको छ ।

आयोजना नसकिदा आयोजनामा जटिलता मात्रै देखिएको छैन, अन्य समस्या पनि थपिए । भूइचालो तथा प्राकृतिक प्रकोपका कारण पनि आयोजना २ वर्ष पर धकेलियो, अब नधेलियोस् भन्नेमा राष्ट्रिय योजना आयोग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय समेत प्रतिवद्धता देखिन्छ ।

तर, निर्माण व्यवसायीलाई काममा गति दिलाउन के कस्ता प्रयास गर्ने होला त ? प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पटक–पटक भन्ने गरेका छन्, जिम्मेवार बनाउने बाहेक हामी अरु के गर्न सक्छौं र ?


पुष्प दुलाल