दोस्रो ‘बाह्रखरी कथा प्रतियोगिता’को घोषणा, प्रथम हुनेलाई १ लाख पुरस्कार
काठमाडौं । नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्ने क्रममा १२खरी बुक्सले दोस्रो ‘बाह्रखरी कथा प्रतियोगिता’को घोषणा गरेको छ । प्रतियोगितामा संसारभर रहेका नेपालीकथा लेखकलाई भाग लिन आह्वान गरिएको छ ।
प्रतियोगिताको शर्तअनुरुप प्राप्त भएका कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउने छ । तीकथामध्येबाट निर्णायकले ‘उत्कृष्ट
कथा २०७७’ पुस्तकका लागि २५ वटा छान्नेछन् र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ ।
वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण वाग्लेको संयोजकत्वमा उपन्यासकार अमर न्यौपाने र नवप्रतिभा बिना थिङ तामाङ निर्णायक मण्डलमा छन् ।
नेपाली कथा लेखनको क्षेत्रमा दिइने सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा गत वर्ष नौ सयभन्दा बढी कथाकारले भाग लिएका थिए भने यस वर्ष अझठूलो सहभागिता हुने आयोजकको विश्वास छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्लो वर्षमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार तथा अवार्ड र प्रमाणपत्र प्रदान गरिने छ ।
अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ ।
सङ्ग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरिने छ ।
प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आगामी फागुन १०गतेभित्र ‘बाह्रखरी कथा’ को ईमेल ठेगानामा पठाइसक्नुपर्नेछ ।
कथा प्रतियोगिताको नतिजा २०७७ वैशाख १२ गते एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिनेछ । सोही दिन ‘उत्कृष्ट कथा– २०७७’ को लोकार्पणसमेत हुनेछ ।
आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले ‘बाह्रखरी कथा प्रतियोगितामा’मा भाग लिन सक्नेछन् ।
यो प्रतियोगिताले नवप्रतिभालाई स्थापित बनाउनुका साथै अग्रजको सम्मान गर्ने हाम्रो विश्वास रहेको छ ।
पहिलो संस्करण अर्थात् २०७६ वैशाखमा बजारमा आएको ‘उत्कृष्ट कथा २०७६’ हिन्दी भाषामा पनि प्रकाशित भइसकेको छ ।
गत वर्ष मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’कथा तृतीय भएकोथियो ।
प्रथम हुने कथाकारले एकलाख, द्वितीय र तृतीय हुनेरले क्रमशः ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।