घर-जग्गा कारोबारमा मन्दी, ४.७ प्रतिशतले घट्यो रजिष्ट्रेशन



काठमाडौं । पछिल्लो समय घर–जग्गाको कारोबारमा मन्दी छाएको छ । गत वर्ष घर जग्गाको रजिष्ट्रेशन ४.७ प्रतिशतले घटेको हो ।

राष्ट्र बैंकले गरेको आर्थिक सर्वेक्षण अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा घर-जग्गा रजिष्ट्रेशन अघिल्लो वर्षको साही अवधिको तुलनामा ४.७ प्रतिशतले घटेर ७ लाख ९५ हजार ३८३ मा सीमित भएको छ । गत आवमा राष्ट्र बैंकले १० वटा क्षेत्रमा गरेकोे स्थलगत सर्वेक्षण गरेको थियो । जसमा राष्ट्र बैंकले काठमाडौ, विराटनगर, जनकपूर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी क्षेत्रमा सर्वेक्षण गरेको हो ।

अघिल्लो आव २०७४/७५ मा ८ लाख ३४ हजार ७२९ घर–जग्गा रजिष्ट्रेशन भएका थिए । सो संख्या भने अघिल्लो आव २०७३/७४ को तुलनामा ७.१ प्रतिशतले घटेको थियो । आव २०७३/७४ मा ८ लाख ९८ हजार ११५ घर–जग्गा रजिष्ट्रेशन भएकोमा १ वर्षमा ७.१ प्रतिशतले घर–जग्गा रजिष्ट्रेशन घटेर ८ लाख ३४ हजार ७२९ मा सीमित भएको थियो ।

घर–जग्गा रजिष्ट्रेशन घटेसँगै घर बनाउनेको संख्यामा पनि घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आव २०७३/७४ मा ५३ हजार ६१० घर तथा भवन निमार्णको लागि नक्सा पास भएकोमा सो संख्या आव २०७४/७५ मा ४६.३ प्रतिशतले बढेर ७८ हजार ४३४ पुगेको थियो । गत आव २०७५/७६ मा घर तथा भवन निमार्णको लागि नक्सा पास ८.२ प्रतिशतले घटेर ७२ हजार १४ वटा नक्सा पास भएको राष्ट्र बैंकले जनाएको छ ।

२०७२ बैसाख १२ गतेको भुकम्पका कारण आव २०७३/७४ र ०७४/७५ मा धेरै नयाँ घरहरु निमार्ण गरिएको हुँदा ती आवमा रजिष्ट्रेशन र घर तथा भवन निमार्ण नक्सा पास धेरै भएको राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए ।

‘भुकम्प पछि का २ वर्ष सबैभन्दा धेरै घर निमार्ण भएको छ,’ उनले क्लिकमाण्डूसँग भने ‘गत वर्षसम्म आइपुग्दा घर तथा भवन निमार्ण कार्य लगभग सम्पन्न भइसकेको हुँदा अघिल्ला वर्षहरु तुलनामा घर-जग्गा रजिष्ट्रेशन र नक्सा पास घटेको हो ।’

घर-जग्गा र नक्सा पास घटेपनि करको दायरा बढदा राजश्व संकलन रक मभने बढेको उनले बताए ।

राष्ट्र बैंकका अनुसार गत आवमा घर-जग्गा रजिष्ट्रेशन वापतको राजस्व २ अर्ब १५ करोड ८९ लाख रुपैयाँ संकलन भएको छ । यो अघिल्लो आवको तुलनामा ६.१ प्रतिशतले बढी हो । आव २०७५/७६ मा घर-जग्गा रजिष्ट्रेशन वापत २ अर्ब ३ करोड ४६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

क्षेत्रगत रुपमा विश्लेषण गर्दा गत आवमा काठमाडौं क्षेत्रमा घर जग्गा रजिष्ट्रेशन १२.५ प्रतिशत र घर तथा भवन नक्सा पास १७.० प्रतिशत, विराटनगर क्षेत्रमा घर जग्गा रजिष्ट्रेशन ५.९ प्रतिशत र घर तथा भवन नक्सा पास ७.५ प्रतिशत, वीरगञ्ज क्षेत्रमा घर जग्गा रजिष्ट्रेशन ७.९ प्रतिशत र घर तथा भवन नक्सा पास ०.१ प्रतिशत, पोखरा क्षेत्रमा घर जग्गा रजिष्ट्रेशन २०.४ प्रतिशत र घर तथा भवन नक्सा पास २०.५ प्रतिशत र सिद्धार्थनगर क्षेत्रमा घर जग्गा रजिष्ट्रेशन १६.५ प्रतिशत र घर तथा भवन नक्सा पास ४.० प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकले १० वटा क्षेत्रमा गरेको सर्वेक्षणमा केही क्षेत्रमा भने घर जग्गा रजिष्ट्रेशन र घर तथा भवन नक्सा पासको संख्या अघिल्लो आवको भन्दा गत आवमा बढेको छ ।

गत आवमा जनकपूर क्षेत्रमा घर जग्गा रजिष्ट्रेशन १७.७ प्रतिशत र घर तथा भवन नक्सा पास ५८.३ प्रतिशत र धनगढी क्षेत्रमा घर जग्गा रजिष्ट्रेशन ९.६ प्रतिशत र घर तथा भवन नक्सा पास ४४.८ प्रतिशतले बढेको छ । नेपालगञ्ज क्षेत्रमा भने घर जग्गा रजिष्ट्रेशन २.९ प्रतिशतले बढेको छ र घर तथा भवन नक्सा पास ७.१ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु