बम्पर लाभांशको आशमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य एक महिनामा २४ % ले बढ्यो



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य एक महिनामा २३.५९ प्रतिशतले बढेको छ ।

पुस ७ गते प्रति कित्ता ८९० रुपैयाँ रहेको सेयर एक महिनाको अवधिमा प्रति कित्ता २१० रुपैयाँले बढेर ११ सय रुपैयाँ पुगेको छ । एक महिना यता लगातार बढेको इन्स्योरेन्सको सेयर मूल्य बिहीबार मात्रै प्रति कित्ता ३० रुपैयाँले बढेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको बजार पुँजीकरण ६० अर्ब ४५ करोड ७७ लाख ६८ हजार ८ सय रुपैयाँ रहेको छ ।

पुस ७ गतेबाट बढेको बजार बीचमा ९८० मा पुगेर पुन ९५० रुपैयाँमा फर्किएको थियो । पुस ७ गते ८९० बाट माथी उठेको बजार पुस २७ गतेसम्म १ हजार ५ मा पुगेको थियो । पुस २९ गते १ हजारमा फर्केको बजारले त्यसपछि १ हजार भन्दा पछाडी फर्केर हेरेको छैन । निरन्तर उकालो लाग्दै जाँदा ११ सयको बिन्दुमा पुगेको छ । इन्स्योरेन्सले अघिल्ला वर्षहरुमा राम्रो लाभांश दिएकाले पछिल्लो समयमा सेयर मूल्यमा बढोत्तरी देखिएको जानकारहरुको बुझाई छ ।

इन्स्योरेन्सले लगानीकर्तालाई यस अघिका वर्षहरुमा लाभांश पनि राम्रो दिँदै आएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०६७/६८ मा ७.३७ प्रतिशत बोनस दिएको थियो । त्यसपछि क्रमशः आव २०६८/०६९ मा १२६.३१ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ७० र नगद ५६.३१, आव २०६९÷७० मा ९८.५ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ७० र नगद २८.५ प्रतिशत नगद लाभाश रहेको छ ।

आव २०७०÷७१ मा ६० प्रतिशत बोनस र ८ प्रतिशत नगद सहित ६८ प्रतिशत, आव २०७१/७२ मा २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद लाभांश सहित २६.३२ प्रतिशत, आव २०७२/०७३ मा पनि अघिल्लो आवको जति नै लाभांश दिएको थियो भने आव २०७३/०७४ मा ४२ प्रतिशत बोनस र २८.५३ प्रतिशत नगद सहित ७०.५३ प्रतिशत लाभांश दिएको थियो । यस्तै आव २०७४÷०७५ मा २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद सहित ४८.५ प्रतिशत लाभांश दिएको थियो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट भने लाभांश घोषणा गरेको छैन । इन्स्योरेन्सको अहिले आन्तरिक रुपमा एक्चुरी भ्यालुएसनको काम चलेको छ । त्यसपछि बीमा समितिले वार्षिक प्रतिवेदन स्वीकृतिको लागि जान्छ । बीमा समितिको एक्चुरीले स्वीकृत गरेपछि बीमा समितिले सो विवरण स्वीकृति गरेपछि मात्र लाभांशको घोषणा हुन्छ ।

नेप्सेमा सूचिकृत कम्पनीमा बीमा क्षेत्रमा केही निर्जीवन बीमा कम्पनी बाहेक जीवन बीमा कम्पनी सबैले अघिल्लो वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेको छ ।


क्लिकमान्डु