बागमति प्रदेशले दिएको बिदा उपत्यकामा लागू नहुने, बैंक तथा वित्तीय संस्था खुल्ने



काठमाडौं । बागमति प्रदेश सरकारले घोषणा गरेको सार्वजानिक बिदा उपत्यकाका तीन जिल्लामा लागू नहुने भएको छ ।

शुक्रबार परेको सोनमा ल्होसारको अवसरमा बागमती प्रदेशले दिएको बिदा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपूर र ललितपूरमा भने लागू नहुने भएको हो ।

तीन जिल्लाको हकमा प्रदेश सरकारले बिदा दिएपनि गृह मन्त्रालयले बिदा घोषणा नगरेसम्म लागू नहुने व्यवस्था छ । जस अनुसार बैंक तथा वित्तीय क्षेत्र शुक्रबार पनि संचालन हुने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

‘गृह मन्त्रालयको निर्णयअनुसार राष्ट्र बैंकले वार्षिक क्यालेण्डर बनाइएको छ,’ उनले भने ‘प्रदेश सरकारले बिदा दिएपनि गृह मन्त्रालयको आदेश नहुँदासम्म बिदा हुँदैन् ।’

३ जिल्ला बाहेक बागमति प्रदेशका अन्य जिल्लामा भने सार्वजनिक बिदा छ । जसको कारण बैंक तथा वित्तीय संस्था शुक्रबार बन्द हुने छन् ।

सोही अनुसार शुक्रबार ३ जिल्लाका कुनैपनि निकायमा बिदा नहुने भएको छ ।


क्लिकमान्डु